बामदेवलाई सांसद बनाउने प्रचण्डको प्रस्तावमा ईश्वर पोखरेलको अस्वीकार


काठमाडौ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई संसदमा ल्याउनका लागि अध्यक्ष प्रचण्डले गरेको प्रस्तावमा रक्षामन्त्री समेत रहेका नेता इश्वर पोखरलेले अस्वीकार गरेका छन ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता गौतमलाई काठमाडौं–७ मा उपनिर्वाचन गरी संसदमा ल्याउने बाटोसहितको प्रस्ताव अगाडि सारेका थिए । तर, उनको प्रस्तावमा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले विरोध जनाएका छन् ।

सोमबार नेकपाको सचिवालय बैठकमा काठमाडौं–७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन दाहालले प्रस्ताव गरेपछि नेता पोखरेलले यो सहि कदम नहुने बताएका छन् । दाहालले आफू, वामदेव र मानन्धरबीच बैठक बसेर सहमति भइसकेको पनि सचिवालयमा जानकारी गराएका थिए ।

मानन्धरले सहमति दिएको लिखितपत्र पनि उनले पढेर सुनाएको एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।दाहालको प्रस्तावमा सचिवालय सदस्य पोखरेलले विरोध गरे । ‘यो गलत हुन्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै ती सचिवालय सदस्य भन्छन्, ‘यो उचित निर्णय हुँदैन, यसो नगरौं भन्नु भयो ।’

दाहालको प्रस्ताव र पोखरेलको विरोधपछि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूले सांसद मानन्धरसँग कुरा गर्ने बताएका छन् । नेकपाको हरेकजसो सचिवालय बैठकमा वामदेवले आफूलाई संसदमा ल्याउन माग गर्दै आएको स्रोतले जानकारी दिएको छ ।

वामदेवले पटकपटक विषय उठाएपछि एउटा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘वामदेव कमरेडलाई संसदमा आउने नै चाहना छ भने केही समस्या छैन । उहाँका लागि मै सिट छोडिदिन्छु नि’ भनेर ठट्टा समेत गरेको ती सदस्य बताउँछन् ।

यसअघि उनलाई डोल्पाबाट संसदमा ल्याउने प्रयास भएको थियो । तर सासंद धनबहादुर बुढालाई राजीनामा नगर्न कार्यकर्ताले दबाब दिए । वामदेवले पनि आफूले डोल्पाका नेता कार्यकर्ता समेत नचिनेको भन्दै जोड गरेनन् । वामदेवले आफूलाई बर्दियामा अन्तरघात गरेर हराइएको दाबी गर्दै आएका छन् ।

दुई पार्टी एकता हुँदा समेत आफू कांग्रेस उम्मेद्वारसँग हार्नुको एक मात्र कारण अन्तरघात भएको भन्दै उनले तत्कालीन नेकपा एमाले बैठकमा समेत धारणा राखेका थिए । पार्टीले त्यसपछि छानविन समिति समेत गठन गरेको थियो ।

गौतम बर्दियामा कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतले पराजित भएका थिए । ता दाहाल र वामदेवसँग पद छाड्न सहमति जनाएका मानन्धर ले मंगलबार बिहान निर्वाचन क्षेत्रका नेता कार्यकर्तासँग भेटवार्ता गरिरहेका छन् ।

नेवार समुदायको बाक्लो जनसंख्या रहेको काठमाडौं–७ मा रामवीर लोकप्रिय छन् । प्रतिनिधिसभा छाडेबापत् आफूलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने र मन्त्री बनाउनुपर्ने शर्त मानन्धरले दाहाल र वामदेसँग राखेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्