‘बार्गेनिङ’का लागि मेरो उम्मेदवारी होइन, त्यसैले फिर्ता हुन्नः जीतजंग बस्नेत


२४ साउन । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औँ अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षका उम्मेदवार बनेका जीतजंग बस्नेतले आफ्नो उम्मेदवारी कायमै रहेको दाबी गरेका छन् ।

संस्थापन समूहबाट नैनसिंह महर अध्यक्षको उम्मेदवार तय भएको समाचार बाहिर आइरहेका बेला बस्नेतले यस्तो दाबी गरेका हुन् । ‘मैले उम्मेदवारी फिर्ता लिएको भनेर बाहिर हल्ला भएको छ, त्यो सत्य होइन,’ बस्नेतले पहिलो न्युज डटकमसँग भने, ‘मैले अध्यक्षको तयारी हिजो–आजबाट गरेका होइन, महिनौँ अघिदेखि मैले तयारी गरेछु, त्यसैले फिर्ता लिने कुनै तयारी छैन ।’

सभापति शेरवहादुर देउवा र अन्य बरिष्ठ नेताहरुकै छलफलबाट बस्नेतलाई पार्टीको केन्द्रीय सदीय बनाउने शर्तसहित महरलाई अध्यक्षमा अघि बढाइएको भनिए पनि त्यो सबै गलत भएको बस्नेतले दाबी गरे ।

‘२५ वर्षको अवधिमा अहिलेसम्म (वुटवल, विराटनगर, चितवन र प्रजातान्त्रिकको नेपालगञ्ज) चारवटा मात्र महाधिवेशन सम्पन्न भए,’ ‘बस्नेतले भने, ‘नियमित अधिवेशन भएको भए अहिलेसम्म १२ जना अध्यक्षको जिम्मेवारी पूरा हुने थियो । अहिले नवौँ पटक महाधिवेशन मिति घोषणा भएको छ र उद्घाटन पनि भएको छ । अब यो महाधिवशेनको उद्घाटन र बन्दशत्र मात्र होइन, चिर्वाचनबाटै नेतृत्व छनोट हुनुपर्छ ।’

बस्नेतले ‘बार्गेनिङ’का लागि नभई नेविसंघ बनाउन अध्यक्षको दाबी गरेको बताए । ‘मेरो अध्यक्षको दाबी कांग्रेसभित्रको गुण्डागर्दी अन्त्यका लागि पनि हो,’ बस्नेतले भने, ‘म निर्वाचित भएपछि संगठनलाई एकतावद्ध बनाएर लैजान्छु र गुटको अन्त्य गर्छु ।’

प्रतिक्रिया दिनुहोस्