बालकृष्ण ढुंगेलकै गृह जिल्ला पुगेर उनलाई पक्राउ गर्न युवा संघको उर्दी


जेठ २५ । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले कांग्रेस सभापती  शेरबहादुर देउवाका कारण राष्ट्रियता खतरामा परेको आरोप लगाएका छन् ।

युवा संघ नेपाल ओखलढुंगा जिल्ला कमिटीले आयोजना गरेको कार्याकर्ता भेला र प्रशिक्षणलाई सम्बोधन गर्दै संघका अध्यक्ष पहारीले यस्तो आरोप लगाएका हुन् । उनले देउवाको सत्ता लिप्सा र भारतप्रतिको भक्तिभावले राष्ट्रियता संकटमा परेको समेत आरोप लगाए । ‘अहिले राष्ट्रियता संकटमा परेको छ भने कांग्रेसकै कारण परेको छ,’ उनले भने ।

पहारीले संविधानसभाको पहिलो निर्वाचनमा ओखलढुंगाबाटै सभासद् बनेका बालकृष्ण ढुंगेललाई तुरुन्त कारवाही गर्न पनि माग गरे । एमाओवादीकै गृहमन्त्री रहेका बेला उनले ढुंगेलकै जिल्ला पुगेर कारबाही गर्न माग गरेका हुन् । ओखलढुंगा क्षेत्र नं–१ का सासंद यज्ञराज सुनुवार, नेता किशोर अधिकारीलगायतको उपस्थिति रहेको प्रशिक्षणमा बोल्दै पहारीले तरार्इमा बजेटको कार्यान्वयनका लागि युवा संघले अभियान सन्चालन गर्ने पनि जानकारी दिए ।

उनले युवा संघ नेपालले चलाएको राष्ट्रियता र स्वाधिनताको आन्दोलन सफल भएको भन्दै बजेटले सबै क्षेत्र र समूदायलाई समेटेको दावी गरे । ‘एमाले नेतृत्वको सरकारले ल्याएको बजेट लोकप्रिय र जनमुखीले भएकाले कांग्रेस अत्तालिएको हो,’ उनले भने ‘यो बजेटले युवाहरुको भविष्यको रेखा कोर्नेछ ।’

कार्यक्रममा यज्ञराज सुनुवार,किशोर अधिकारीसँगै युवा संघ उपाध्यक्ष रमेश पौडेल सचिव नरेश शाही, माधब बास्तोला, प्रवक्ता प्रभात बिक्रम कटवाललगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्