बालकृष्ण ढुंगेल गणतन्त्र दिवसको अवसरमा कैदमुक्त, ढुंगेलसँगै ८सय १६ कैदी भए रिहा


काठमाडौ, १५ जेठ । कर्तव्य ज्यान मुद्दामा जेल परेका तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल कैदमुक्त भएका छन् । गणतन्त्रको अवसरमा सरकारले ढुंगेलसँगै अन्य ८ सय १६ कैदी–बन्दीको कैद मिनाह गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेल रिहा भएका हुन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा गत कात्तिक १४ गते ललितपुरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरि डिल्लीबजार कारागारमा राखिएको थियो । ढुंगेललाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । कारागार नियमावलीकै प्रावधान अनुसार ढुंगेलसहित ८ सय १६ जनालाइ सरकारले गणतन्त्र दिवसको सन्दर्भमा कैद मुक्त गरेको हो ।
कारागार नियमावली अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलन भएमा कैद मिनाह गर्ने व्यवस्था छ । जन्मकैदको २० वर्षको ४० प्रतिशत ८ वर्ष हुन्छ । ढुंगेलले सोही मुद्दामा यसभन्दा अघि पनि जेल बसेकाले ८ वर्ष पूरा हुन ५ महिना २२ दिन मात्रै बाँकी थियो । गत वर्षको १४ कात्तिकमा पक्राउ परेका ढुंगेलको ८ वर्ष वैशाखमा पुगिसकेको छ । त्यसैलाई आधार मान्दै ४० प्रतिशत कैद भुक्तान गरिसकेका ढुंगेललाई सरकारले कैद मिनाह गरेको हो । ढुंगेल द्वन्द्वकालमै साढे ७ वर्ष जेल बसेका थिए ।
गणतन्त्र दिवसका अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको सजाय माफी दिएकी हुन् ।
उनीहरुलाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिइएको हो ।
यद्यपि, ढुंगेललाई माफी दिन लागिएको भन्दै केही दिनयता विरोध प्रदर्शन भइरहेको छ भने सर्वोच्च अदालतमा रिट समेत परेको थियो ।

यसैबीच रिहा भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरु’ले आफूलाई जेलमा सडाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले आफूलाई रिहा गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा हाल्ने वकिलहरुको पनि चर्को विरोध गरे । आफूले सर्वोच्च अदालतको सम्मान गर्ने तर, आफूविरुद्ध परेको रिटमा लामो बहस गर्न जरुरी नभएको ढुंगेलको तर्क थियो ।

 

प्रतिक्रिया दिनुहोस्