बालकोटबाट प्रचण्डलाई ओलीको प्रस्ताव– ‘अब बामपन्थी मिलौँ, कांग्रेससँग सति नजानुहोस्’


३ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मिलेर मुलुकलाई बामपन्थीमय बनाउन नेकपा माओवादी (केन्द्र)का नेताहरुलाई आग्रह गर्नुभएको छ ।

आफ्नो नेतृत्वको सरकार ढालेपछि माओवादीसँग निकै रुष्ट बन्दै आउनु भएका ओलीले नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका नवनिर्वाचित पदाधिकारीलाई आफ्नै निवास बोकोटमा शुभकामना दिदैँ यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले बहुसङ्ख्यक नेपाली जनता बामपन्थी पक्षधर रहेको भन्दै देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु बामपन्थी फुटाउने अभियानमा लागेको पनि आरोप लगाउनुभयो । ‘देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु मुलुकलाई अघि बढ्न नदिने अभियानमा जुटेका छन्,’ उहाँले भन्नुभयो, ‘एमाले र माओवादी मिलेरै मुलुकलाई बामपन्थीमय बनाउनु पर्छ ।’

उहाँले थप्नुभयो–‘म माओवादी केन्द्रका नेताहरुलाई भन्छु, चुनाव जित्नुछ भने एमालेसँग मिल्नोस, अब सती नै जानु छ, सर्वनास नै हुनु छ भने त के गर्नु ?’

उहाँले अझै पनि बामपन्थीबीच एकता गर्न अझै ढिला भइसकेको पनि दाबी गर्नुभयो । ‘अब सोचेर अघि बढ्नोस, चुनाव जित्नु छ भने एमालेसँग मिल्नुस,’ उहाँले भन्नुभयो, ‘एमाले र माओवादी केन्द्र मिलेर जाँदा नै मुलक र जनताले लाभ प्राप्त गर्ने छन् । उहाँले एमाले र माओवादी सवैतिर मिलेर नेपाल नै बामपन्थीमय बनाउनु पर्छ पनि भन्नुभयो । ‘मिलिन्छ भने मिलेर बनाउनु पर्छ, मिलिदैन भने एमाले एक्लैले बामपन्थीमय बनाउँछ नेपाललाई,’ ओलीले भन्नुभयो, ‘एमाले माओवादीसँग मिलेर नै मुलुकलाई बामपन्थीमय बनाउन चाहन्छ । कांग्रेसले यो देशलाई धेरै दुःख दिइसकेको यथार्थ बुझ्न अब माओवादीले ढिलाइ गर्न हुन्न ।’

पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले अब जहाँ चुनाव भएपनि एमाले र एमालेसँग सहकार्य गर्ने, मिलेर चुनावमा जाने शक्ति विजयी हुने ठोकुवा गर्नुभयो ।

उहाँले संघमा एमाले र माओवादी केन्द्रबीचको सहकार्यलाई राम्रो कामको थालनीको संज्ञा दिनुभयो । ‘संघ मात्रै होइन, सवैतिर एमाले र माओवादी मिल्नुपर्छ, जित्नुपर्छ अनि देशलाई कांग्रेसको कलंकित काम र दुःखबाट मुक्त गराउनु पर्छ,’ ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्