बालबालिकालाई सास्ती : ६ घन्टा कक्षामा, चार घन्टा बसमा


काठमाडौं, २७ फागुन । स्तरीय पढाइ हुन्छ भनेर बुढानीलकण्ठ हात्तीगौँडाका विद्यार्थीलाई ललितपुर हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल पुर्‍याइन्छ, स्तरीय पढाइ हुन्छ भनेरै ललितपुर हात्तीवनका विद्यार्थीलाई बाँसबारीस्थित चाँदबाग स्कुल ओसारिन्छ । ललितपुर धापाखेलको जेम्स स्कुलले बालाजुको माछापोखरीसम्मका विद्यार्थी बोक्छ, चोभारको मोडर्न इन्डियन स्कुलले बुढानीलकण्ठ नारायणथानबाट विद्यार्थी जम्मा गर्छ । काठमाडौंको अत्यासलाग्दो जाम र धुलोमा बालबालिका दिनमा चार घन्टा बाटोमै बिताउन बाध्य छन् ।

राष्ट्रिय शिक्षा नीतिले नै बालबालिकालाई निवासनजिकको विद्यालयमा अध्ययन गर्न प्रेरित गर्ने नीति लिएको छ । तर, विद्यालयको व्यापारमोह र अभिभावकको भ्रमले उपत्यकाका बालबालिका काठमाडौंको जाम र धुलोमा दैनिक अत्यासलाग्दो यात्रा गर्न बाध्य छन् । घरबाट विद्यालय जाँदा र विद्यालयबाट घर फर्किँदा दैनिक चार घन्टा गाडीमै बिताउन बाध्य छन् बालबालिका । चर्को जाम छिचोल्दै, धुवाँ–धुलो खाँदै हुने यात्रामा गाडीमै निदाउँछन् । उनीहरूको विद्यालयमा पढ्ने समयभन्दा कष्टकर यात्रा बढी हुने गरेको छ ।

राम्रो विद्यालय रोज्ने नाममा अभिभावककै भ्रमले बालबालिकालाई यातना भइरहेको छ । बुढानीलकण्ठ क्षेत्रका अभिभावक चोभारदेखि धापाखेलसम्मका विद्यालयमा बालबच्चा पठाउँछन् । तर, चोभार र धापाखेलका अभिभावक फेरि  बुढानीलकण्ठतिर दौडाउँछन् । कलंकी, सातदोबाटो, हात्तीवन क्षेत्रका अभिभावक नजिकका विद्यालय छाडेर कपनदेखि बाँसबारीसम्म कुदाउँछन् । उपत्यकाका ठूला भनिएका विद्यालयले यसरी टाढा–टाढाबाट विद्यार्थी ओसार्छन् ।

कीर्तिपुरको चोभारस्थित मोडर्न इन्डियन स्कुल विद्यार्थी बटुल्न दैनिक बुढानीलकण्ठदेखि हात्तीगौँडासम्म पुग्छ । बिहान ६ः५० बजेदेखि गाडीले विद्यार्थी बटुल्न थाल्छ । जहाँ माथिल्लो तहका मात्र होइन, प्रि–स्कुल (केजी) मा अध्ययन गर्ने विद्यार्थी पनि हुन्छन् । ट्राफिक जाममा नपर्दा पनि कम्तीमा एकतर्फी यात्रा मात्रै दुई घन्टाको हुन्छ । कहिले त विद्यालयमा पढ्नभन्दा गाडीको यात्रामा बढी समय जान्छ ।

काठमाडौंकै बाँसबारीस्थित द चाँदबाग स्कुलले उपत्यकाका तीनवटै जिल्लाबाट विद्यार्थी बटुल्छ । चाँदबागको बस विद्यार्थी टिप्न ललितपुरको सातदोबाटोदेखि हात्तीवनसम्म पुग्छ । तर, हात्तीवनकै लिटिल एन्जल्स स्कुल चाँदबाग भएकै क्षेत्रनजिक महाराजगन्जसम्म पुग्छ । लिटिल एन्जल्सले जोरपाटी, बालाजु, बाइपास, कलंकी, स्युचाटारलगायत क्षेत्रबाट विद्यार्थी सोहोर्छ ।

कपन र नयाँपाटी (सुन्दरीजल जाने बाटो)मा रहेको ड्याफोडिल पब्लिक स्कुलको गाडी विद्यार्थी लिन कलंकीसम्मै पुग्छ । ललितपुरको धापाखेलस्थित जेम्स स्कुलले पनि बिहान ७ः०० बजेदेखि नै तीन जिल्लाबाट विद्यार्थी जम्मा गर्न बस खटाउँछ । जेम्सले कक्षा २ देखिका बालबालिका धुम्बाराही, सुकेधारा, बालाजु बाइपास, गोंगबु, वनस्थली, सीतापाइला, स्युचाटार, कलंकीलगायत क्षेत्रबाट उठाउने गरेको छ ।

ललितपुरकै आइडिएल मोडेल स्कुल भक्तपुरको मध्यपुर ठिमीलगायत क्षेत्रसम्म पुग्ने गरेको छ । मानभवनको एभिएम, ललितपुरको युनाइटेड एकेडेमी, जेभियर इन्टरनेसनल स्कुललगायत पनि उपत्यका फन्को मार्दै विद्यार्थी ओसार्छन् । यी त केही उदाहरण मात्रै हुन् । अभिभावकको भ्रममा सरकारको कमजोरी तथा शिक्षा मन्त्रालय र मन्त्रीभन्दा बलिया निजी विद्यालय सञ्चालक हुँदा कलिला बालबालिकामाथि गुणस्तरीय शिक्षाको नाममा दिनहुँ यातना भएको छ ।

बालबालिकाले विद्यालयमा दिउँसो खान लगेको टिफिन पनि लामो यात्रामा भोकाउँदा बसमै खाने गरेको अभिभावक बताउँछन् । ‘राम्रो होला कि भनेर टाढा–टाढासम्म पठाइएको छ, तर गाडीमै लामो यात्रा गर्दा थाकेर पढ्नै नसक्ने अवस्था पनि हुन्छ,’ एक अभिभावकले भने, ‘विद्यालय टाढा भएकै कारण बिहान सबेरै उठ्नुपर्छ, निद्रासमेत पुग्दैन ।’

उपत्यकामा बालबालिका बोक्न एउटै विद्यालयका सयभन्दा बढीसम्म बस प्रयोगमा छन् । कतिपय विद्यालयका आफ्नै बस छन् भने कतिपयले सार्वजनिक यातायातका साधन भाडामा लिएर विद्यार्थी ओसार्न प्रयोग गर्छन् । मोर्डन इन्डियन स्कुलले केजीदेखि कक्षा ६ सम्म २४ रुट बनाएर विद्यार्थी ओसार्ने गरेको छ । त्यस्तै, कक्षा ७ देखि १२ सम्मका विद्यार्थी २७ रुट बनाएर ओसार्छ । धापाखेलको जेम्स स्कुलले भने कक्षा १ मा सानेपाका लागि सात रुट बनाएर विद्यार्थी ओसार्दै आएको छ । कक्षा २ देखि ५ सम्म १७ र कक्षा ६ देखि १० सम्म ३० वटा रुट बनाएर विद्यार्थी ओसार्ने गरेको छ ।

राष्ट्रिय शिक्षा नीति २०७६ ले सबै बालबालिकालाई नजिकको विद्यालयमा अध्ययन गर्न प्रेरित गर्ने नीति लिए पनि शिक्षा मन्त्रालयले कार्यान्वयन गर्न सकेको छैन । नीतिको १०.५ का विद्यालय सेवा क्षेत्र सम्बन्धी मापदण्ड तथा कार्यविधि तयार पारी त्यसका आधारमा सबै प्रकारका आधारभूत विद्यालयलाई सेवा क्षेत्रको अवधारणाअनुरूप व्यवस्थित गर्ने उल्लेख छ । विद्यालय सेवा क्षेत्र निर्धारणका आधार, निर्धारित मापदण्ड र मानक संघीय सरकारको शिक्षा हेर्ने मन्त्रालयले निर्दिष्ट गर्ने भनिएको छ । मन्त्रालयले बनाएको मापदण्डअनुसार स्थानीय तहले विद्यालय सेवा क्षेत्रको अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था मिलाउने शिक्षा नीतिमा उल्लेख छ । तर, शिक्षा मन्त्रालयले कार्यान्वयनमा चासो नै दिएको छैन ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल शिक्षा नीतिमा ‘स्कुल जोनिङ’को अवधारणा राखिएकोमा अब ऐन–कानुनमै व्यवस्था गर्नुपर्ने बताउँछन् । ‘शिक्षा नीतिमा त स्कुल जोनिङको व्यवस्था छ, नीतिका आधारमा अब शिक्षा ऐन–कानुनमा लैजानुपर्छ,’ मन्त्री पोखरेलले भने, ‘भर्खरको बालबालिकालाई खाना खुवाएर ८ नबज्दै गाडीमा पु¥याउनुहुन्छ । विद्यालयमा पुगेर पढेर फर्किँदा निकै थाकेको हुन्छ । टाढा पुर्‍याउनु बालबालिकाको कोणबाट ठीक होइन । छनोटको अधिकारको पनि विषय आउन सक्छ । हामीले सबै विद्यालय गुणस्तरीय बनाएपछि जहाँ लगे पनि फरक पर्दैन ।’

आफैँले बनाएको मापदण्डविपरीत निजी विद्यालय 
योभन्दा त्यो विद्यालय राम्रो भन्ने भ्रममा अभिभावक छन् । अभिभावकको भ्रममा निजी विद्यालय सञ्चालकले मनपरी गरिरहेका छन् । उनीहरूले राजनीतिक पहुँचका आडमा आफूप्रतिकूल व्यवस्था मात्रै हटाएका छैनन्, आफैँले बनाएको मापदण्ड पनि उल्लंघन गरेका छन् ।  शिक्षा मन्त्रालयले २०६९ मा विद्यालयबाट कति लामो दूरीसम्म विद्यार्थी लिन पाउने भन्ने व्यवस्था गरेको थियो । तर, निजी विद्यालय सञ्चालकले दबाब दिएर व्यवस्था परिवर्तन गराए । त्यसपछि आफ्नै अनुकूल ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९’ बनाए ।

निर्देशिकामा विद्यालयदेखि विद्यार्थीको निवाससम्म आतेजातेको दूरी निर्धारण गरिएको छ । कक्षा ५ सम्मका विद्यार्थीको हकमा विद्यालयबाट दुईतर्फी दूरी १२ किलोमिटरसम्म तोकिएको छ । कक्षा ६ देखि माथिका विद्यार्थीको हकमा १८ किलोमिटर कायम गरिएको छ । तर, ठूला भनिएका विद्यालयले मापदण्ड मिचेका छन् ।

कीर्तिपुर चोभारको मोर्डन इन्डियन स्कुलको रुट नं. २० को बस केजीका विद्यार्थी बोक्न बुढानीलकण्ठ हात्तीगौँडासम्म पुग्छ । यो दूरी एकतर्फी मात्रै १७ किलोमिटर छ । त्यस्तै बाँसबारीको चाँदबाग स्कुलको बस हात्तीवनसम्म तथा हात्तीवनको लिटिल एन्जल्स र धापाखेलको जेम्स स्कुलले जोरपाटीदेखि बालाजु बाइपासलगायत क्षेत्रबाट विद्यार्थी ओसार्छन् । जोरपाटीदेखि धापाखेलसम्मको दूरी एकतर्फी मात्रै साढे १४ किलोमिटर छ । बाँसबारीबाट हात्तीवनको दूरी पनि साढे १३ किलोमिटर छ ।

स्कुलका बस सहर घुम्दै, जथाभावी रोक्दा ट्राफिक जाम
विद्यालयका गाडीले टाढा–टाढाबाट विद्यार्थी ओसार्ने क्रममा ठाउँ–ठाउँमा जथाभावी रोक्दा र होल्ड गर्दा सडक नै जाम हुने गरेको छ । खासगरी भित्री सडकमा समस्या हुन्छ । बिहान ९ बजेभन्दा अगावै विद्यार्थी ओसार्ने गरी व्यवस्था गर्न विद्यालयहरू, प्याब्सन, एनब्याब्सनलगायतसँग पटक–पटक छलफल गरे पनि कार्यान्वयन हुन नसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

‘उपत्यकाको एउटा कुनाको विद्यालयको गाडी विद्यार्थी ओसार्दै अर्को कुनासम्म पुग्छ । सहर परिक्रममा गराउँदै जथाभावी रोक्दा र होल्ड गर्दा ट्राफिक जाम हुन्छ,’ एसएसपी ढकालले भने, ‘हामीले बिहान ९ बजेअगावै विद्यार्थी ओसार्न सम्बन्धित पक्षलाई पटक–पटक भनेका छौँ, तर कार्यान्वयन भएको छैन ।’ उनले अब स्कुल बसमा पनि ‘पिक एन्ड ड्रप’ लागू गर्ने तयारी गरेको बताए ।  कतिपय विद्यालयले मापदण्डविपरीत भाडाका बस, माइक्रो र साना भ्यानमा पनि विद्यार्थी ओसारेका छन् । विद्यार्थी ओसार्ने र एकैछिनमा फेरि यात्रु पनि बोक्ने एउटै गाडी छन् । ‘यस्तो गर्न पाइँदैन,’ एसएसपी ढकालले भने, ‘भाडाकै गाडीमा विद्यार्थी बोक्ने हो भने पनि पहेँलो रंग लगाउनुपर्छ र अन्य यात्रु बोक्न प्रयोग गर्न पाइँदैन ।’

विद्यार्थी टाढाका विद्यालयमा लैजानु आपत्तिजनक छ
धर्मदत्त देवकोटा अध्यक्ष, नेपाल अभिभावक महासंघ 

साना बालबालिकालाई टाढासम्म लैजानु आपत्तिजनक विषय हो । विद्यालयको सेवा क्षेत्र तोक्नुपर्छ र हरेक विद्यालयमा गुणस्तर कायम गरी नजिक पढाउनुपर्छ । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका बनाउने समयमा सकेसम्म कम दूरीबाट विद्यार्थी लैजान पाउने व्यवस्था गर्न खोजेको हो । तर, निजी विद्यालय सञ्चालकको दबाबमा लामै दूरी निर्धारण भयो । विद्यालय सञ्चालकले मन लागेकोमा पढ्न पाउनु अधिकार भएको तर्क गरे । तर, विदेशमा पनि नेपालमा जस्तो मनपरी हुँदैन । विद्यालयको सेवा क्षेत्र तोकिन्छ । आफ्ना बालबालिकालाई टाढाको विद्यालयमा पढाउन मन लागे अभिभावक बसाइँ नै सरेर जानुपर्छ । घरनजिक विद्यालयमा बालबालिका पढाउँदा अभिभावकले समेत अनुगमन गर्न सक्छन् । नेपालमा ब्रान्डका पछि लाग्ने चलन छ । अब अभिभावकलाई परामर्श गर्न आवश्यक छ ।

वडा–वडामा गुणस्तरीय विद्यालय हुनुपर्छ
डिके ढुंगाना,वरिष्ठ उपाध्यक्ष, प्याब्सन

बालबालिकालाई लामो यात्रा गर्न कठिन हुन्छ । केही वर्ष पहिलेदेखि विद्यालय नक्सांकन गर्नुपर्छ भनेर आवाज उठाउँदै आएका हौँ । बर्सेनि मन्टेसरी खुल्ने र अपग्रेड गर्दै जाने चलन छ । विद्यालय खोलेपछि चलाउनका लागि पनि विद्यार्थीको घरको ढोका–ढोकामा पुग्नुपर्ने बाध्यता छ । अभिभावकको चाहनाले पनि विद्यालयका गाडी टाढासम्म पुगेका हुन् । अब स्कुल जोन तोक्ने र हरेक वडामा गुणस्तरीय शिक्षा दिने विद्यालय सञ्चालन भएमा विद्यार्थीले टाढाको यात्रा गर्नुपर्ने बाध्यता रहँदैन । निजी विद्यालय मर्ज गर्ने, स्तरीकृत गर्ने र अभिभावक तथा समाजले पत्याउने गराएमा बालबालिकाले टाढाको यात्रा गर्नु पर्दैन ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल भन्छन्–ऐन–कानुन बनाएर
व्यवस्थित गर्नुपर्छ

शिक्षा नीतिमा ‘स्कुल जोनिङ’को अवधारणा राखेका छौँ । विगतमा विद्यालय स्थापना गर्दा नक्सांकन भएन । एउटै ठाउँमा सार्वजनिक र निजी विद्यालय छन् । विद्यालय एक–अर्कोबीच कति दूरी हुनुपर्छ भन्ने पनि छैन । राम्रो प्रणाली भएका देशमा स्कुल जोनिङको व्यवस्था छ । नेपालमा पनि नीतिमा यो विषय आएको छ । नीतिका आधारमा शिक्षा ऐन–कानुनमा लैजानुपर्छ । यस विषयमा व्यापक छलफल गरेर कसरी लैजाने भन्ने यकिन गर्नुपर्छ ।

हामीले शिक्षालाई बालबालिकाको दृष्टिकोणबाट हेर्नुपर्छ । भर्खरको बालबालिकालाई खाना खुवाएर ८ नबज्दै गाडीमा पुर्‍याउनुहुन्छ । विद्यालयमा पुगेर पढेर फर्किँदा निकै थाकेको हुन्छ । टाढा पुर्‍याउनु बालबालिकाको कोणबाट ठीक होइन । छनोटको अधिकारको पनि विषय आउन सक्छ । हामीले सबै विद्यालय गुणस्तरीय बनाएपछि जहाँ लगे पनि फरक पर्दैन । काठमाडौंको ट्राफिक जाम हेर्दा पनि सेवा क्षेत्र निर्धारण गर्नु आवश्यक देखिन्छ ।

पूर्वसचिव एवं शिक्षाविज्ञ महाश्रम शर्मा भन्छन्–टाढाको यात्राले विद्यार्थी मानसिक तनावमा परे
विद्यालयको सेवा क्षेत्र कायम गरेर नजिकका विद्यालयमा मात्र पढाउने व्यवस्था गर्नुपर्छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि साना बालबालिकालाई धेरै टाढा लैजानु अव्यावहारिक काम हो । निजी विद्यालयमा अध्ययन गर्ने पनि सेवा क्षेत्रभित्र पढ्नुपर्ने हुन्छ । सहरी क्षेत्रमा बिहान ७ नबज्दै लाइन लगाएर बसबाट विद्यालय पुर्‍याइन्छ । यस्तो अभ्यासबाट बालबालिकाले न राम्रोसँग खान पाएका छन् न त राम्रोसँग पढ्न पाएका छन् ।

उठ्नेबित्तिकै विद्यालय जान तयार हुनुपर्छ, छुट्टीपछि पनि बेलुका ढिला मात्र घर पुग्छन् । अब शिक्षा ऐन–नियममै सेवा क्षेत्रभन्दा टाढा नजाने व्यवस्था गर्नुपर्छ । हरेक विद्यालय राम्रो बनाउने वातावरण बनाउने हो, टाढा–टाढा लैजाने र ल्याउने गर्नु हुँदैन । सेवा क्षेत्रभित्रकै बालबालिका भए अभिभावकको सहयोग हुन्छ, आउन–जान सजिलो हुन्छ, आउने जाने समयमा अध्ययन गर्न सक्छन्, अभिभावकलाई पनि सजिलो हुन्छ । बसमा कोचिएर टाढा जाँदा मानसिक तनाव भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्