बालबिवाहको पीडाः २७ वर्षअघि बनाइएको उजेली अहिले सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)


काठमाडौ, २१ चैत । यतिवेला वालविवाह सम्बन्धी डकुमेन्ट्री सामाजिक सञ्जालमा भाइरल बनेको छ । बाल्यअवस्थामा नै विवाह र आमा बन्नुको पीडा यस डकुमेन्ट्रीमा देखाइएको छ । सन १९९२ मा युनिसेफले बालविवाह विरुद्ध चेतना फैलाउन यस उजेली टेलिचलचित्र निर्माण गरको थियो । आजभन्दा २७ वर्ष पहिले बनाएको यो टेलिचलचित्रले नेपालको वास्तविक बालविवाहको कथा बोकेको छ । अहिले पनि आफ्नी हजुरआमालाई कति वर्षमा विवाह गर्नुभयो भनि प्रश्न गरयो भने ६/ ७ वर्ष भनि उत्तर आउछ । यद्यपी अहिले पनि चेतनाको अभावले वालविवाह हुने गर्दछ ।

यस डकुमेन्ट्रीमा उजेलीलाई सानै उमेरमा विवाह गरिन्छ । उनलाई पढ्नमा धेरै रुची हुन्छ । उनका श्रीमान कक्षा चारमा पढ्छन तर उनलाई पनि पढ्न मन लाग्छ तर पाउदिनन् । बिहानै उठेर घर लिप्ने, बस्तुभाउलाई खोले घासपात दिने, बस्नु चराउने, भाडा माज्ने, पानी बोक्ने लगायत सबै घरको काम उजेलीले गर्नुपर्छ । कलिलै उमेरमा एउटी बालिकाले कति पीडा झेल्नु पर्छ भन्ने चित्रण गरिएको छ उजेलीमा ।

विभिन्न अवार्ड प्राप्त गरेको यो टेलिचलचित्र संसारभरका २० वटाभन्दा धेरै टेलिभिजन च्यानलहरूबाट प्रसारण भएको थियो । नेपाल अझै पनि बालविवाह उच्च भएका एसियाली देशहरूमध्ये शीर्ष स्थानमा पर्दछ । महिला र पुरूष दुबैका लागि विवाह गर्ने कानूनी उमेर २० वर्ष भएपनि २० देखि २४ वर्षका महिलाहरूमध्ये एक तिहाइभन्दा धेरैले आफ्नो विवाह १८ वर्षभन्दा कम उमेरमा र १० मध्ये एक महिलाले विवाह १५ वर्षको उमेर नपुग्दै भएको बताउँछन् । बालविवाहले बालिकाहरूको पढ्ने अवसरलाई संकुचित बनाएको छ र बच्चा जन्माउने बेलामा मृत्युको उच्च जोखिममा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्