बालानन्दको आपत्तिपछि स्थानीयले रद्द गर्यो सरुवा


१९ असोज । चार दिनअघि मात्रै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ठूलो संख्यामा गरेको स्थानीय विकास अधिकारीहरुको सरुवालाई अचानक रद्द गरेको छ । ठूलो संख्यामा स्थानीय विकास अधिकारी र नगरपालिकाका कार्यकारी अधिकृतहरुको सरुवा गर्दा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगको काममा असर पर्ने भन्दै आयोगका अध्यक्ष बालानन्द पौडेलले आपत्ति जनाएपछि मन्त्रालय सरुवा रद्द गर्न बाध्य भएको हो ।

दुई दिनअघि स्थानीय विकास मन्त्रालयले सबै स्थानीय विकास अधिकारीहरुलाई एउटा परिपत्र जारी गरी ‘जिल्ला नछोड्न’ आदेश दिएको थियो । माओवादी केन्द्र नेतृत्वको सरकारले स्थानीय, प्रदेश र केन्द्र तीनै तहको चुनावलाई मध्यनजर गरेर आफूले सम्हालेका मन्त्रालयका कर्मचारीहरुको व्यापक सरुवा गर्ने क्रममा स्थानीय विकासका पनि धेरै कर्मचारीको सरुवा भएको हो । सो मन्त्रालयले ७० जना अधिकृतहरुलाई विभिन्न जिल्ला विकास समिति र नगरपालिकाहरुमा सरुवा गरेको थियो ।

तर, मन्त्रीस्तरीय निर्णयले ठूलो संख्यामा स्थानीय विकास अधिकारीहरुको सरुवा गरे पनि सचिवस्तरीय निर्णयले ‘हाललाई अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि स्थानीय विकास अधिकारीहरुले जिल्ला नछोडी साविक बमोजिम जिल्लाको काम गर्न र सार्वजनिक बिदाका दिनमा समेत मन्त्रालयको स्वीकृति बिना जिल्ला नछोड्न’ निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्