बालुवाटारबाटै डकुमेन्टको अध्ययन गर्दै प्रधानमन्त्री


काठमाडौ, १९ कात्तिक । स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री केपी ओली डेढ हप्तादेखि सिंहदरबारस्थित कार्यालयमा गएका छैनन् । अस्पतालमा रहँदा पनि एकपटक मन्त्रीहरूलाई बोलाएर ब्रिफिङ लिएका ओलीले अत्यावश्यक सरकारी काम बालुवाटारबाटै गरिरहेका छन् ।
‘प्रधानमन्त्रीज्यूले गर्नुपर्ने निर्णय धेरै छन्, क्याबिनेटका निर्णय पनि थन्किएका छन्, सरकारी कागजको चाङ लागेको छ,’ प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘त्यसकारण बालुवाटारमा आराम गर्दै प्रधानमन्त्रीज्यूले अहिले डकुमेन्टहरूको अध्ययन गरिरहनुभएको छ ।’

प्रधानमन्त्रीले आइतबार बालुवाटारमा अत्यावश्यक भेट र छलफल गरे । बिहान ९ बजेबाट एक घन्टा नेकपा अध्यक्ष प्रचण्डसँग राजनीतिक तथा समसामयिक विषयमा छलफल गरेका ओलीले दिउँसो मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटे ।
तिहारपछि मात्रै सक्रिय बन्ने

ओली कम्तीमा एक हप्ता सार्वजनिक कार्यक्रमहरूमा सहभागी नहुने भएका छन् । स्वास्थ्य अवस्था सामान्य भइसके पनि चिकित्सकहरूको सुझाबअनुसार ओली तिहार अवधिभर बालुवाटारस्थित सरकारी निवासमै आराम गर्ने निष्कर्षमा पुगेका हुन् ।
‘तिहारअघि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री निस्किनुहुन्न, आरामका लागि अहिलेलाई सामान्य भेटघाट रोकिएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘उहाँले केही दिन अफिसियल र अत्यावश्यकीय भेटघाट मात्र गर्नुहुनेछ ।’
छातीमा संक्रमण बढ्दा श्वास–प्रश्वासमा समस्या देखिएपछि गत १२ कात्तिकमा ओली शिक्षण अस्पताल महाराजगन्जको मनमोहन कार्थियोसिस भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना भएका थिए । स्वास्थ्यमा पूर्ण सुधार भएपछि उनी शुक्रबार साँझ बालुवाटारस्थित सरकारी निवास फर्किएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्