बालुवाटारमा तीन दलबीच रस्साकस्सी, एक्लै अघि नबढ्न कांग्रेस–माओवादीलाई एमालेको चेतावनी


 

६ मंसिर  । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन प्रक्रिया अघि बढाउने अन्तिम तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने आफूहरुसँग सहमति नगरी अघि बढे परिणाम राम्रो नहुने चेतावनी दिएको छ ।

संविधान संशोधनको विषयमा छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा बोलाएको छलफलमा एमालेले त्यस्तो चेतावनी दिएको हो । एमालेले ९० प्रतिसत भन्दा बढीले हस्ताक्षर गरेको संविधानलाई तत्काल संशोधन गर्नु पर्ने औचित्य र आवश्यकता पुष्टि गरेर मात्र प्रक्रिया अघि बढाउन कांग्रेस–माओवादीलाई सुझाव दिएको बैठकमा सहभागी एमाले संसदीय दलका उप–नेता सुवास नेम्वाङले जानकारी दिए । ‘हामीले उहाँहरुलाई संविधान संशोधन गर्नुगर्ने औचित्य र आवशयकता पुष्टि गर्नु भन्यौँ,’ नेम्वाङले भने, ‘उहाँहरुले आजको छलफलमा पनि त्यो पुष्टि गर्न सक्नुभएन ।

बैठकमा एमालेले संविधान जारी भए लगत्तै कांग्रेसकै आग्रहमा एक पटक संविधान संशोधन भएको भन्दै अहिले मधेसवादी दलले उठाएका माग र संशोधन गर्ने भनिएका बुँदा राष्ट्रघाती भएको भन्दै त्यसमा सहमति नुहने अडान लिएको थियो ।

‘बैठकमा कांग्रेस र माओवादीका साथीहरुले संशोधनको विषयलाई संसदमा दर्ता गरौँ र विस्तारै सहमति खोज्दै जाऔँ भन्नुभयो,’ बैठकमै सहभागी एमालेका एक नेताले भने, ‘हामीले प्रष्ट रुपमा अहिले उठाएको सीमांकन हेरफेर, भाषा र अंगीकृत नागरिकताको विषय राष्ट्रघाती भएको भन्दै त्यसमा एमालेले सहमति जनाउन नसक्ने अडान राख्यौँ ।’ ती नेताले यस्तो देशघाती कुरालाई विना सहमति अघि बढ्न खोजे एमाले चुप लागेर नबस्ने चेतावनी दिएको पनि बताए ।
बालुवाटारमा उपेन्द्रको चर्चा
बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबैलाई समान अधिकार नदिएसम्म संविधान कार्यान्वयन हुन नसक्ने भनी सोमबार नै पत्रकार सम्मेलनमा दिएको चेतावनीबारे पनि बालुबाटारमा छलफल भएको थियो ।

सङ्घीय समाजवादी फोरम पर्साले अयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानलाई संशोधन गरी सर्वस्वीकार्य नबनाएसम्म संविधान कार्यान्वयन हुन नसक्ने भनी दिएको चेतावनीबारे पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको थियो । बैठकमा सहभागी एक नेताले भने–‘अहिले सरकराले संविधान संशोधन गर्ने भने पनि मधेसवादी दलबीच नै सहमति जुट्न सकेको छैन । यस्तो अवस्थामा कसरी संशोधन हुन्छ ?’ तीन नेताले यादवले दिएको चेतावनी प्रधानमन्त्री प्रचण्डलाई सुनाएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्