बालुवाटारमा प्रधानमन्त्री–प्रचण्ड पौने तीन घण्टा वार्ता


काठमाडौं ।  दुई ठूला वाम पार्टीबीचको बहुप्रतिक्षित एकता घोषणा तयारी लम्बिदैं जाँदा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच विहिबार पौने तीन घण्टा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेबाट अपरान्ह् १ बजेसम्म दुई नेताबीच एकतासँग जोडिएका बाँकी विषयमा गम्भीर छलफल भएको हो । ‘उहाँहरुबीच करिब पौने तीन घण्टा गम्भीर छलफल भएको छ’, प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बजगाईंले पहिलो न्यूजसँग भने ।
छलफलमा चार एजेण्डा
उच्च स्रोतका अनुसार बैठकमा आलोपालो प्रणाली, दुई अध्यक्षको कार्यकारी अधिकार, केन्द्रीय कमिटीदेखि तलसम्म दुवै पार्टीको संख्यात्मक हिस्सेदारी र जनयुद्धलाई विधानमा राखेर राजनीतिक उपलब्धिलाई सम्मान गर्ने विषयमा केन्द्रीत रहेर छलफल भएको थियो । ‘छलफल धेरै सकारात्मक दिशामा अघि बढेको छ’ उच्च स्रोतले भन्यो,‘अब एक दुई चरण वान अन वान वार्ताले सबै विषय टुंगिएपछि एकता संयोजन समितिबाट पार्टी एकता घोषणासभाको मिति पनि टुंगो लाग्नेछ ।’
केन्द्रीय कमिटी ३ सय ५० पु¥याउने तयारी
माओवादी केन्द्रले सम्मानजनक एकतामा जोड दिँदै आफ्ना केही नेतालाई स्थायी समिति र पोलिटब्यूरोमा ब्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरेपछि बढिमा ४० प्रतिशत हिस्सा दिएर एककता सम्पन्न गर्ने गृहकार्य अघि बढेको छ । एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी तर्फबाट बढिमा ४० प्रतिशत थप्ने तयारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्