बालुवाटारमा हात हालाहाल सन्दर्भः भएको के हो ? भीम रावलकै शब्दमा


१४ भदौ । प्रधानमन्त्री प्रचण्डको आह्वानमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीको शीर्ष बैठकमा वर्तमान गृहमन्त्री विमलेन्द्र निधि र पूर्वगृहमन्त्री भीम रावलबीच हात हालाहालको स्थिति सिर्जना भएको र बैठक नै भाँडिएको भन्ने समाचार बाहिर आइरहेका बेला बैठकमा सहभागी एमाले उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रावलले भने त्यहाँको घटनाबारे पहिलो न्युज डटकमसँग यसरी बेलिविस्तार लगाए ।

पहिला नेकपा (एमाले) ले स्थानीय निकायको निर्वाचन गरौं भन्दा होइन स्थानीय तहको गरौं भन्यो । अहिले पनि नेपाली कांग्रेस–माओवादी गठबन्धनको चित्तबुझ्दो जवाफ आएको छैन । यो निर्वाचन नै नगर्ने नियत हो कि ? भन्ने आशंका गर्दै सबै निर्वाचन कुन–कुन समयमा गर्ने हो त्यसको कार्यतालिका चाहियो भनेर एमालेले बैठकमा प्रस्ताव राख्यो ।

एमालेको तर्फबाट हामीले संविधान संशोधनको सन्दर्भमा पनि तपाईंहरुले के–के संशोधन गर्न खोजेको ? तपाईंहरुको प्रस्ताव के हो ? किन ? त्यो सबै चाहियो । सबै कुरा हामीलाई चित्तबुझ्दो भयो भने मात्र हामी प्रतिक्रिया दिन्छौं भन्यौं । एमालेले स्थानीय निकायको निर्वाचनका सन्दर्भमा पनि मधेसी मोर्चाका नेताहरु कांग्रेस–माओवादी गठबन्धनको सरकारमा मन्त्री बन्न खोजिरहेका छन् । उनीहरु स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा गर्नुहुँदैन भनिरहेका छन् । यो विषयमा तपाईंहरुको के हो धारणा ? भनेर हामीले भन्यौं ।

सरकारले विशेष दूत बनाएर पठाएको सन्दर्भ, भारतमा संविधान संशोधनको कुरा भएको सन्दर्भ आदिबारे पनि एमालेले उहाँहरूलाई प्रस्ट हुन आग्रह ग¥यो । भारतस्थिति नेपाली दूतावासले जारी गरेको वक्तव्यमा समेत संविधान संशोधनबारे छलफल भएको भन्ने कुरा आएको छ । के हो ? भनेर एमालेले प्रश्न ग¥यो । संविधान सम्शोधनका बारेमा नेपालका राजनीतिक दलसँग छलफल नगर्ने अनि बाहिर विदेशमा गएर छलफल गर्ने के हो ? भनेर मैले प्रश्न गरें ।

मैले त्यो प्रश्न गर्नेबित्तिकै विमलेन्द्र निधिले ‘होइन हामीले हाम्रो आन्तरिक मामिलाबारे सामान्य छलफल मात्र गरको हो’ भन्नुभयो । उहाँले ‘हामी भविष्यमा पनि यस्ता छलफल गर्छौ । विगतमा संविधानका मस्यौदा तयार गर्दा पनि छलफल हुने गरेका छन्, अन्य पार्टीले विदेशीको पैसा लिने र संविधान निर्माणमा उनीहरुको सुझाव लिने गरेको’ समेत आरोप लगाउनुभयो । मैले तत्कालै उहाँलाई तपाईंजस्तो देशको उपप्रधान तथा गृहमन्त्रीजस्तो व्यक्तिले त्यो भन्न मिल्दैन ।

हामीले संविधानको मस्यौदा तयार गर्दा कसैसँग पैसा लिएका छैनौ र सहयोग पनि मागेका छैनौं । संविधान मस्यौदा समितिको सभापति त कांग्रेसकै नेता कृष्ण सिटौलाजी हुनुहुन्थ्यो भने । मैले उहाँलाई तथ्यहीन कुरा नगर्न आग्रह गर्दै कसले, कहिले कहाँ भनेको हो सबै प्रमाण चाहिन्छ भने ।

प्रधानमन्त्री प्रचण्डजीले ‘कुनै गोष्ठी वा भेलामा सकैले भनेको होला’ भनेर विषयलाई नै अन्तै मोड्नुभयो । भएको यति हो । तर, यही विषयलाई विभिन्न सञ्चार माध्ययमले बालुवाटारमा हात हालाहाल नै भयो भनेर लेखेछन् । त्यो सत्य होइन । निधिजीले तर्क गर्नुभयो । मैले तथ्य जवाफ मागें । मिडियाले हात हालाहाल भयो भनेर लेखेछन् । उनीहरुले नै हात हालाहाल गरे होलान् । हामीजत्तिको व्यक्तिले हात हालाहाल गर्ने कुरा सम्भव होला ?

प्रतिक्रिया दिनुहोस्