बालुवाटारमै प्रधानमन्त्री प्रचण्डले भने– ‘संशोधन प्रस्ताव पारित हुन कठिन छ’


१९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित नहुने बताएका छन् ।

मधेसी मोर्चामा संलग्न दलहरुले जसरी पनि संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिइरहेका बेला प्रधानमन्त्री स्वयंले भने यस्तो बताएका हुन् ।

नेपाल आदिबासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने– ‘हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरें, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैनौं भनेर प्रष्ट भाषामा भन्नुभएको छ, प्रस्ताव मतदानमा गयो भने विपक्षमा मतदान गर्ने उहाँहरुको प्रष्ट कुरा छ ।’

‘यस्तो जान्दाजान्दै मतदानमा जाँदा संशोधन प्रस्ताव पारित हुँदैन, फेल हुन्छ,’ उनले भने, ‘त्यसले समस्या समाधान होइन, झन् बल्झाउँछ, त्यसैले अलिकति समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुन्छ ।’

प्रचण्डले अहिलेको संविधान मान्दैनौं भन्दा मुलूक उल्टो दिशातिर जानसक्ने खतरा पनि औल्याए । ‘संविधान जारी गर्ने बेला मेरो पार्टीले पनि आठ बुँदे असहमति दर्ज गरेको छ । तर, अहिलेको संविधान पनि मान्दैनौं भनेर हामी नै यो संविधानको विरुद्ध लाग्दा त्यसको परिणाम के होला ?’ उनले भने । भुईंको टिप्न खोज्दा पोल्टाको खस्ने भन्दै हतार नगर्न सुझाव दिए ।

‘अहिलेको संविधान खारेज भयो भने २०४७ को संविधान आउने खतरा रहन्छ । के तपाई हामीले चाहेको त्यही हो त ?,’ उनले भने, ‘होइन भने अहिले प्राप्त गरेका अधिकारलाई जोगाउँदै अगाडि बढ्नु राम्रो हुन्छ ।’

सरकार जनजाति अधिकारको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले आदिबासी जनजाति प्रतिष्ठान खारेज नहुनेमा विश्वास दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्