बालुवाटारको जग्गा किनबेच भएको छैनः सरकारका प्रवक्ता बास्कोटा


काठमाडौ, २८ चैत । सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको बताएको छ । मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले यस्तो बताएका हुन ।
ललिता निवासको जग्गा किनबेचबारे छानविन गर्न बनेको समितिको सिफारिस अनुसार जग्गा किनबेचमा रोक लगाइसकेको सरकारका प्रवक्ता बास्कोटाले बताएका हुन ।
सञ्चारमन्त्री बास्कोटाले भने, ‘प्रम निवासको जग्गा किनबेच भएको छैन । छेउको जग्गा हो ।’

सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले उनले यसबारे थप छानविन गर्ने र दोषीलाई कारबाही गर्ने बताए । ‘ दोषी देखिन्छ भने कोही पनि उम्कँदैन, सत्ता र प्रतिपक्षको प्रश्न भएन’ मन्त्री बास्कोटाले भनेका छन् ।

सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले समेत त्यहाँ जग्गा किनेको पाइएको छ । यसबारे के हुन्छ भनेर सोधिएको प्रश्नमा सरकारका प्रवक्ता बास्कोटाले भने, ‘नेकपाको महासचिवले यस विषयमा वक्तव्य जारी गरिसक्नु भएको छ । उहाँ फर्जी धन्दामा संलग्न भएको होइन । कसैको नाममा भएको जग्गा किनेको हुँ भन्नु भएको छ ।’

उनले अघि भने, ‘उहाँले जग्गा किन्नुभयो, परेछ नक्कली । उहाँ ठगीमा पार्नुभयो, अपराधी होइन ।’

प्रतिक्रिया दिनुहोस्