बालुवाटार जग्गा प्रकरणका योजनाकार ढकालको घरमा विस्फोट


काठमाडौं, २ माघ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रकरणका योजनाकार मानिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

नागार्जुन नगरपालिका ढुंगेधारानजिकै रहेको उनको घरको गेटमा बुधबार साँझ शक्तिशाली बम विस्फोट भएको हो ।

विस्फोटमा कुनै मानवीय क्षति नभएको काठमाडौं परिसरका डिएसपी होबीन्द्र बोगटीले बताए । विस्फोटबाट घरको गेटमा क्षति पुगेको छ भने झ्यालका सिसा फुटेका छन् । गाडीमा समेत क्षति पुगेको छ ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बोगटीले जानकारी दिए । घटनाको जिम्मा नेकपा विप्लव समूहले लिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा ‘सेवोटेज’ गरिएको विप्लव समूहको पर्चामा उल्लेख छ ।

विस्फोट आसपास क्षेत्रमा भेटिएको पर्चामा बालुवाटार जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने बताइएको छ । ‘ललिता निवासको जग्गा माफियाका नाइकेहरू भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, भू–माफियाहरू शोभाकान्त ढकाल र रामकुमार सुवेदीको चंगुलमा परेर राज्य सञ्चालकले सुवर्ण शम्शेरको सन्तानबाट तथाकथित मोही सिर्जना गरेको हो’, पर्चामा लेखिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्