बालुवाटार बैठक सकारात्मक, केही दिनमै निर्वाचन घोषणा गर्ने प्रचण्डको प्रतिवद्धता


८ माघ । संविधान संशोधन, निर्वाचनसम्बन्धि विधेयक, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ बालुवाटारमा बोलाएको प्रमुख तीन दलको बैठक सकारात्मक देखिएको छ ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेससँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को दूरी बढिरहेका बेला शनिबार बसेको बैठक सकारात्मक भएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले केही दिन भित्रै स्थानीय तहको निर्वाचन घोषणा गर्ने प्रतिवद्धता बैठकमा व्यक्त गरेका छन् ।

‘हामीले स्थानीय तहको निर्वाचन एक–दुई दिन भित्रमै घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाव दियौँ,’ बैठकमा सहभागी एमाले संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङले पहिलो न्युज डटकमसँग भने, ‘उहाँले केही दिन भित्रै निर्वाचन मिति घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।’
बैठकले निर्वाचन सम्बन्धि विद्येय केही दिन भित्रमै संसद्बाट पास गर्ने गरि अघि बढाउने सहमति गरेको पनि नेम्वाङले जानकारी दिए ।

‘बैठक सकारात्मक भयो,’ नेम्वाङले भने, ‘प्रधानमन्त्रीले असन्तुष्टहरुलाई पनि सहमतिमा ल्याउने चिन्ता छ । के गरौँ भनेर सुझाव माग्नुभयो । हामीले यसरी नै छलफल अघि बढाउँदै जाऔँ समाधानको बाटो निस्कन सक्छ भन्यौँ ।’

बैठकमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भिम रावल,  उप–प्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा वादल, कांग्रेस नेता रामचन्द्र पौडेललगायतका नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्