बिदा भए सांसद पाण्डे


२९ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवम् सांसद भक्तिप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा सोमबार निधन भएको छ । विगत एक वर्षदेखि अर्बुद रोगबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा सोमबार बिहान निधन भएको हो ।

पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि भोलि मङ्गलबार बिहान ९ देखि ११ बजेसम्म नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ । माओवादीभित्र चाचा उपनामले चिनिने पाण्डेले माओवादीको सशस्त्र सङ्घर्षको बेला आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि इञ्चार्ज भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

युद्धका क्रममा पाण्डेले निकै जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगट्ठा र अन्य युद्ध सामग्री भित्र्याएका थिए । । सानैदेखि विद्रोही स्वभावका उनी १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित हरेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बनेका थिए ।

नेकपा (पुष्पलाल समूह), नेकपा माले हुँदै २०४० सालमा मोहनविक्रम सिंहको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल छाडेका थिए । नेकपा मसालले माओवादी जनयुद्धको चर्को विरोध गरेपछि दीनानाथ शर्माको नेतृत्वमा विद्रोह गरेर पार्टी गठन गरी तत्कालीन नेकपा माओवादीसँग उनले एकता गरेका थिए । पार्टी्भित्र चर्को अन्तरविरोध हुँदा पनि पुष्पकमल दाहाल र बाबुराम भट्टराई दुवैले अत्यन्तै विश्वास गर्ने थोरैमध्येको एउटा पात्र थिए उनी । पार्टीभित्र उनको छवि सधैँ इमानदार, निडर र क्रान्तिकारी योद्धाका रुपमा रहेको थियो ।

पाण्डेका एक छोरा, दुई छोरी छन् । विसं २०६४ को संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ बाट प्रतिस्पर्धा र झिनो मतले पराजित सांसद पाण्डे २०७० मा संविधान सभामा एनेकपा (माओवादी) को तर्फबाट समानुपातिक तर्फबाट सांसद बनेका थिए । हाल व्यवस्थापिका–संसद्मा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सदस्य रहनुभएका पाण्डेको पुस्तक ‘आत्मकथा’ (प्रकाशोन्मुख) समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्