बिरेन्द्रनगर दिनभर तनावग्रस्त, बुधबार बिहानसम्म कर्फ्यू


कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर दिनभर तनावग्रस्त बनेको छ ।

बिहानैबाट वीरेन्द्रनगर नगरपालिका–३ गौतम चोक नजिकै टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएपछि विरोध सुरू भएको थियो । विरोधमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनकारी तोडफोड तथा आगजानी गरेका थिए ।

भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको थियो । त्यसलगत्तै कर्णाली राजमार्ग बन्द गराएर आन्दोलन शुरु भयो ।

उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै सुरु भएको आन्दोलन टिपर चालकलाई नियन्त्रणमा लिँदासमेत रोकिएन ।

आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ । प्रहरीको गोली लागेर ८ जना घाइते भएका छन् । तर, सुर्खेत प्रहरी प्रमुख डिल्लीराज पन्तले भने अज्ञात समूहबाट गोली चलेको जनाएका छन् । प्रहरीले गोली नचलाएको उनको दाबी छ ।

प्रशासन र पीडित पक्षबीच सहमति भएर शव उठाउने तयारी भए पनि आन्दोलन नरोकिँदा समस्या उत्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । आन्दोलनकारीले कर्णाली राजमार्ग बन्द गराउनुका साथै त्यस आसपास क्षेत्रमा बजारसमेत बन्द गराएका छन् । साथै आगजनी र तोडफोडमा उत्रिएका छन् ।

आन्दोलन उग्र बनेपछि नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाइ फायर गरेको छ । केही आन्दोलनकारी घाइते भएका छन् ।

आन्दोलन मत्थर नभएपछि स्थानीय प्रशासनले मंगलबार साँझ साढे ६ बजेदेखि लागू हुने गरी बुधबार विहान ६ बजे सम्मका लागि कर्फ्यु जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्