बिर्तामोड र भद्रपुर नगरपालिकामा एमाले विजयी


२२ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मूलतः सहरहरुमा पकड जमाएको नेकपा (एमाले) ले पूर्वको उदाउँदो सहरी क्षेत्र झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा विजय प्राप्त गरेको छ ।

एमालेका तर्फबाट मेयरका उम्मेदवार धुव्रकुमार शिवाकोटीले नौ हजार १ सय १० मत प्राप्त गरी विजयी भएका हुन् । यसैगरी, उपप्रमुखमा एमालेकै पवित्रा महतरा प्रसाईं १० हजार ४ सय ३७ मत प्राप्त गरी विजय भइन् ।

प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार जलकुमार गुरुङले आठ हजार २ सय १७ मत प्राप्त गरे भने उपप्रमुख पदकी उम्मेदवार नेपाली काँग्रेसकै पार्वता गिरीले नौ हजार ११ मत प्राप्त गरिन् ।

यसअघि, झापाकै भद्रपुर नगरपालिकामा एमालेका प्रमुख पदका उम्मेदवार जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठ निर्वाचित भएका थिए ।

प्रमुख श्रेष्ठले ११ हजार ४२ र उन प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेश पोखरेलले सात हजार २ सय १५ तथा विजयी उपप्रमुख श्रेष्ठले १० हजार ६ सय ५० र उनका प्रतिद्वन्द्वी नेकाकी तारा भुर्तेलले छ हजार ४ सय ९८ मत प्राप्त गरेकी थिइन्।

एमालेले आफ्नो पकड रहेको झापाकै गौरादह नगरपालिका गुमाउनु परे पनि बिर्तामोड र भद्रपुरमा भने सफलता पाएको छ । झापाका ठूला सहर–बजारहरुमा एमालेले नै विजयी प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्