बिहानैदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध


११ साउन । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन, तानसेन–राम्दी क्षेत्र अन्तर्गतको सडक आज बिहानैदेखि अवरुद्ध बन्न पुगेको छ ।
जिल्लाका दोभान गाविस–१ झुम्सा, सिद्धबाबा, चरचरे, केराबारी, राम्दी नजिकै पीपलडाँडा गाविस अन्तर्गत दुई स्थानमा पहिरो खसेको हो ।

अविरल वर्षाले सडकमाथिबाट खसेको पहिराले राजमार्गका छेउमा रहेका तीन घर समेत पुरिएका छन् । अन्य चार घर अझै जोखिममा छन् । माटो र ढुङ्गासहित पानी बग्न नरोकिँदा  अझै चार घर खतरामा नै छन् ।

राति गएको पहिराले सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई बुटवल आवतजावतमा समस्या पैदा भएको छ । दूध, तरकारी लगायत गाउँमा उत्पादित सामान बुटवल लैजाने र बुटवलबाट दैनिक उपभोग्य सामान खरिद गरी ल्याउनेलाई सडक अवरुद्ध हुँदा समस्या पैदा भएको छ ।

बुटवलबाट पाल्पा हुँदै अर्घाखाँची, गुल्मी, बाग्लुङ, स्याङ्जा र पोखरा जाने सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै पाल्पाका ग्रामीण भेगबाट बुटवल जाने सवारी साधन सडक अवरुद्ध हुँदा यात्रु समस्या परेका छन् ।

पटक पटक पाल्पा–बुटवल सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा पहिराले अवरुद्ध गरे पनि यसपालि दोभानको झुम्सा क्षेत्रमा ठूलो पहिराले सडक अवरुद्ध बनाउन पुगेको हो । पहिराले सात घर दलित परिवारलाई घरविहीन बनाएको छ । उनीहरुले अहिले नजिकैको स्थानीयवासीको सहारामा आश्रय लिएको स्थानीयवासी नारायण थापाले बताए ।

सडक अवरुद्ध खुलाउन स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बिहानैदेखि खटिए पनि आज साँझसम्म बाटो खुलाउन समस्या रहेको स्थानीयवासीले बताएका छन् । पहिरो अझै रोकिएको छैन । आज साँझसम्म पनि सडक खुल्ने छाँट नभएको स्थानीय बासिन्दा नारायण थापाले बताए ।

ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यका अनुसार सिद्धार्थ राजमार्ग खुलाउन तीन डोजर प्रयोगमा आएको छ । सिद्धबाबा क्षेत्रमा एउटा तथा चरचरे र पीपलडाँडा क्षेत्रमा एउटा डोजरको प्रयोग गरी स्थानीय प्रशासनले सडक खुलाउन पहल गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्