बी एन्ड बीले दायर गरेको मुद्दा स्वास्थ्य खबरका पक्षमा फैसला


१२ पुस ।  २०७२ चैत अंकमा स्वास्थ्य खबरपत्रिकाले बी एण्ड बी अस्पतालले उपचारका क्रममा केही बिरामीमाथि गरेको लापरबाही बारे एक समाचार प्रकाशन गरेपछि अस्पतालले स्वास्थ्य खवरपत्रिकाका प्रधान सम्पादक अनिल न्यौपाने, वरिष्ठ संवाददाता डीबी खड्का र स्वास्थ्य खबरपत्रिकाविरुद्ध मुद्धा दायर गरेको थियो ।  सो मुद्दामा जिल्ला अदालत काठमाडौंले स्वास्थ्य खबरका पक्षमा फैसला गरेको छ  । न्यायाधिश हरिचशन्द्र ढुंगानाको इजलाशले उनीहरुविरुद्ध दायर भएको मुद्दाको दावी नपुग्ने ठहर्याएको हो ।

अस्पतालका सञ्चालक डा. जगदीशलाल वैद्य, रेहेना वैद्य, सञ्चालक डा. अशोक बाँस्कोटा, पद्मा बास्कोटा, उपचारमा संलग्न डाक्टर बाबुकाजी श्रेष्ठ र बिजनेश म्यानेजर प्रवीण तेगी तुलाधरले एक करोड रुपैयाँ क्षतिपूर्ति दाबी सहित गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।
‘जिल्ला अदालत काठमाडौंले मंगलबार गरेको फैसलामा बादीको मागदावी ठहर हुन नसक्ने देखिएको दाबी गरिएको छ । ‘कसुर स्थापित हुन नसक्दा प्रतिवादीले सफाई पाउने ठहर्छ,’ फैसलामा भनिएको छ ।

अस्पताल सञ्चालकले स्वास्थ्य खबरपत्रिकामा बी एण्ड बी अस्पतालको नाम सहितको सचित्र ठुलो तस्वीर राखी  ‘लुटेरा अस्पताल’ ‘यसरी लुट्छन् अस्पताल’ र ‘बी एण्ड बीको ब्रम्हलुट’ जस्ता शिर्षक समाचार प्रकाशन भएको भन्दै मुद्धा दायर गरेको थियो । ‘फिरादी बी एण्ड बी अस्पताल र अस्पतालका संस्थापक सञ्चालक तथा कार्यरत कर्मचारीहरुप्रति जनमानसमा गलत, भ्रामक र निराधार कपोकल्पित समाचार प्रकाशित गरी फिरादीको ख्याती एवं प्रतिष्ठामा गम्भीर आघात सृजना गरेको, जनमानसमा भ्रम सिर्जना गरी अस्पतालको बिरामीमा मानसिक त्रास र बिरामीको आफन्तजनलाई भड्काउने दुष्प्रयास गरेको र फिरादीको सम्मान एवं भावनामा चोट पुग्ने गरी ‘लुटेरा’को संज्ञा दिई अपमानित गरिएकोमा सम्मानित न्यायालय समक्ष न्यायको लागि प्रस्तुत फिराद दावी गर्न आएका छौं, दायर गरेको मुद्धामा भनिएको थियो ।

दुर्घटनामा परी बी एण्ड बी अस्पतालमा उपचार गराएका पोखराका अर्जुन भण्डारी र धादिङका गुणनारायण श्रेष्ठमाथि उपचारका क्रममा भएको लापरवाहीका बारेमा पीडित बिरामीहरु, आफन्तलगायतका पक्षबाट आवश्यक प्रमाण र कागजातका आधारमा स्वास्थ्य खबरपत्रिकाले उक्त समाचार प्रकाशित गरेको थियो । उक्त मुद्दामा स्वास्थ्य खबरपत्रिकाका तर्फबाट उपभोक्ता अधिकारकर्मी एवं अधिवक्ता ज्योती बानियाँले कानूनी प्रतिरक्षा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्