बुद्धि आचार्य विदा, टेलिकम नेतृत्वविहीन, नयाँ एमडी अनिश्चित


२० भदौ । प्रबन्ध निर्देशक (एमडी) बुद्धि आचार्यले दुई वर्षे कार्यकाल पूरा गरी सोमबार अवकाश लिएपछि मुलुकको सबभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी– नेपाल टेलिकम नेतृत्वविहीन भएको छ । नयाँ एमडी छनोटका लागि दुई महिनाअघि नै समिति बने पनि त्यसले समयमै एमडी नियुक्त गर्न सकेन ।

सोमबार विदा हुँदा आचार्यले ११ औँ तहका कर्मचारी सूर्यभक्त पोखरेललाई निमित्तको कार्यभार दिएका छन् । उनी टेलिकमका सबैभन्दा बरिष्ठ कर्मचारी हुन् ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा गठित सिफारिश समितिले नयाँ एमडीका लागि दरखास्त आह्वान गरे पनि अहिलेसम्म सर्ट लिस्टिङ, अन्तर्वार्ता जस्ता काम सुरु गरेको छैन । उक्त समितिमा पूर्वसहसचिव नारायण सञ्जेल र कविराज खनाल, टेलिकमकै पूर्वएमडी अमरनाथ सिंह र प्रविधि विशेषज्ञ बसन्त वन सदस्य छन् ।

१३ जनाले दिए दरखास्त

समितिले दरखास्त आह्वान गरेपछि १३ जनाले निवेदन दिएका छन् । उनीहरुले निवेदनका साथ आफ्नो कार्ययोजना समेत पेस गरेका छन् । यसअघि एमडीको अवधि दुई वर्ष भएकोमा नयाँ व्यवस्था अनुसार तीन वर्ष कायम गरेर कार्ययोजना माग गरिएको छ ।

समिति स्रोतका अनुसार, दरखास्त दिने १३ मध्ये ९ जना टेलिकम भित्रकै छन्, जसमा आजै अवकाश पाएका एमडी बुद्धि आचार्य पनि छन् । त्यसैगरी, टेलिकमका ११ औँ तहकी कामिनी राजभण्डारी र रविन्द्र झाले दरखास्त दिएका छन् भने १० औँ तहका गुणकेशरी प्रधान, प्रतिमा प्रधान, राजबाबु अर्याल, गोकर्ण सिटौला र मधुकानन्द बैद्यले दरखास्त दिएका छन् ।

खुल्ला प्रतिस्पर्धा भएकाले बाहिरबाट दरखास्त दिनेमा नेपाल बायुसेवा निगममा खुल्ला प्रतिस्पर्धाबाट एमडी नियुक्त भएर २७ महिना बाँकी छँदै बीचैमा हिँडेका मदन खरेल पनि छन् । खुल्ला प्रतिस्पर्धाबाट आएर पनि पूरै अवधि काम गर्नुका साटो छाडेर भोगेको भन्दै चर्को आलोचना भोगेका खरेल केही समयअघि तत्कालीन पर्यटनमन्त्री आनन्द पोखरेललाई खुसी पारेर वायुसेवा निगमकै अध्यक्ष हुन तम्सिएका थिए । उनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगे पनि मुख्यसचिव सोमलाल सुवेदीले एमडी कार्यकारी भएको संस्थामा कार्यकारी अध्यक्ष नियुक्त गर्दा संस्था धरासायी हुने अडान लिएपछि निर्णय हुन सकेको थिएन । निगममा अहिलेका एमडी सुगतरत्न कंसाकार अध्यक्ष र केबी लिम्बु एमडी हुँदा दुईजनाबीचको झगडाका कारण निगमले समयमै तलब खुवाउन समेत नसकेको दृष्टान्त मन्त्रिपरिषद्को बैठकमा उठेको थियो ।

त्यसैगरी, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पनि टेलिकमको एमडी हुन निवेदन दिएका छन् । उनको नेतृत्वमा जनक शिक्षाले कर्मचारीलाई तलब खुवाउन सकिरहेको छैन । दीपकराज जोशी र नागेन्द्र दासले पनि निवेदन दिएका छन् ।

के गरे बुद्धि आचार्यले ?

पेसाले चार्टर्ड एकाउन्टेन्ट आचार्य दुई वर्षअघि टेलिकमको एमडी हुँदा नेपाल टेलिकमले बजारमा ४३ प्रतिशत हिस्सा ओगटेको थियो भने बहुराष्ट्रिय कम्पनी एनसेलले ४६ प्रतिशत । आचार्यको दुई वर्षे कार्यकालमा यो तथ्य उल्टिएर नेपाल टेलिकमले बजारमा आफ्नो हस्तक्षेप बढाएको छ । अहिले नेपाल टेलिकमले ४८ प्रतिशत हिस्सेदारी पु¥याएको छ भने एनसेल ४४ प्रतिशतमा झरेको छ ।

आचार्यकै कार्यकालमा नेपाल टेलिकमले फाइबर टु होम योजना अघि सारेर इन्टरनेट पहुँचलाई बढावा दिएको छ ।

यसैगरी, थ्रीजी सेवालाई मुलुकका ७३ जिल्लामा पु¥याइएको आचार्यले बताए । उनका अनुसार, यसबीचमा हुम्ला र मुगुमा माइक्रो वेभ सिस्टम जोडेर इन्टरनेट पु¥याइएको छ । उनले भने, ‘अब देशभरका कुनै पनि जिल्ला इन्टरनेटमा जोडिनबाट बञ्चित छैनन् ।’
एमडी आचार्यले आफ्नो कार्यकालमा टेलिकमको सेवा सुधारमा प्रगति भएको बताए ।

यस वर्ष नेपाल टेलिकमले सरकारलाई २१ अर्ब राजश्व बुझाएको छ, जुन अघिल्लो वर्षको भन्दा ए अर्ब बढी हो । सबै शेयर भ्यालु ननिकालिए पनि नेपाल टेलिकमसँग १ खर्ब १५ अर्बको पुँजी छ ।

यति ठूलो संस्थामा समयमै नयाँ एमडीको टुंगो लगाउन नसक्नुलाई प्रतिस्पर्धात्मक बजारमा शंकाका दृष्टिले हेरिएको छ । नयाँ सरकार आएको एक महिना बितिसक्दा पनि त्यसतर्फ ध्यान दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्