बेपत्ताको स्थिति सार्वजनिक गर्न माग


 

काठमाडौ, १५ भदौ । बेपत्ता परिवारका सदस्यले आफ्ना सदस्यको स्थिति सार्वजनिक गर्न राज्यसँग माग गरेका छन् । तत्कालीन माओवादी सशस्त्र जनयुद्धका बेला बेपत्ता भएकाको परिवारले अझै उचित न्याय नपाएको गुनासो गरेका छन्
नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा राज्यबाट बेपत्ता पारिएका परिवारका सदस्य उपेन्द्रबहादुर डाँगीले बेपत्ताको स्थिति सार्वजनिक गर्नुपर्ने बताए।

त्यस्तै खुमबहादुर डाँगीले बेपत्ता भएकालाई कि मृत्यु भएको घोषणा गरिदिन कि त जिउँदो मान्छे छ भनी देखाइ दिनुपर्ने बताए । अधिकांश राज्यबाट बेपत्ता पारिएका परिवारका सदस्यको सहभागिता रहेको उक्त कार्यक्रमका सहभागीहरूले बेपत्ता पारिएका, शहीद र द्वन्द्वपीडितमाथि सरकारले अझै पनि न्याय दिन नसकेको गुनासो गरेका थिए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता टीकाराम खड्काले बेपत्ता आयोग र सत्य निरुपण आयोगले कामभन्दा पनि आफ्नो म्याद बढाउने काम मात्र गरेको भन्दै राज्यबाट अब तत्काल पीडित परिवारलाई पुनःस्थापनाका प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने सुझाब दिए ।

नेपाली काँग्रेसका जिल्ला सदस्य देवा डाँगीले राज्य र विद्रोही दुवै पक्षबाट पीडित परिवारलाई राहत, पुनःस्थापन र न्यायका लागि दवाव दिनुपर्नेमा बताउनुभयो ।
जनयुद्धका बेला दाङमा राज्य र विद्रोही पक्षबाट ६०२ को हत्या भएको थियो । यस्तै ११३ बेपत्ता, २९० अपहरण, ३०७ घाइते अपाङ्ग, ८१४ को सम्पत्ति क्षति, ५४५ विस्थापित र पाँचजनाले आफ्ना बाबुआमा गुमाएका शान्ति समिति कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्