बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशत ब्याजमा ऋण लिएर घर बनाउँदै भूकम्पपीडित


काठमाडौं, ३० असोज । भोटेकोशी गाउँपालिका, सिंगेरीका सुकवीर विकलाई घर ठडिन लागेसँगै ऋणले पिरोल्न थालेको छ ।

सामग्री र कामदार अभावकैबीच काम थालेका उनले झ्याल हाल्दासम्म ५ लाख रुपैयाँ खर्चिएका छन् । ‘तिखेर घरकै लागि भनेर आँटेर ३६ प्रतिशत ब्याजमा ३ लाख ऋण पनि लिइयो, अहिले कसरी तिर्ने भनेर आत्तिन थालेको छु,’ विकले भने । आभास अनुदानको दुई लाख लिँदा समेत घर बनाउन हम्मे परेको उनले सुनाए ।

दुई रोपनी खेतबारी मात्रै रहेका विक सिकर्मी काम गर्छन् । पत्नी, छोराछोरीसहित चार जनाको पारिवार पाल्नु छ । ‘नुनतेल, मरमसलामै मासिक ५ हजारभन्दा बढी खर्च हुन्छ, कमाएको रकम घरमै सकिन्छ, कसरी ऋण तिर्नु हजुर,’ उनले भने ।

भोटेकोसी–१, पाउँगुम्बाका कामी शेर्पा बैंक र सहकारीले नपत्याएपछि साहुसँग वार्षिक २४ प्रतिशत ब्याजदरमा चार लाख ऋण लिन बाध्य भए । यस्तै छ यहाँका भूकम्पपीडितहरुको अवस्था छ ।

बैंक र सहकारीले नपत्याएपछि कतिपयले गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण लिएर घर ठड्याउँदै छन् । अब उनीहरुलाई ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । उनीहरुले सरकारले दिएको अनुदान घर बनाउन अपर्याप्त भएको गुनासो गरेका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्