बैतडीका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन


बैतडी, २६ बैशाख । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर बन्द हुने अवस्थामा पुगेपछि बैतडीका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका छन् ।

अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछि सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका हुन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा पनि शैक्षिक सत्र २०७५ देखि केही विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिकाको वडा नं ३, श्रीकोटमा रहेका दुई सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको हो ।

खोचलेकमा रहेको सनातन धर्म मावि र खिरेगाउँमा रहेको केदारनाथ आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

सनातन धर्म मावि, खोचलेकमा कक्षा १ देखि ३ सम्म र केदारनाथ आधारभूत विद्यालयमा बालविकास र कक्षा १ मा यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्