ब्राजिलमा ५० देशलाई जनताको जनवाद पढाउँदै माधव नेपाल


काठमाडौं, २५ जेठ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ब्राजिलमा नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र जनताको जनवादबारे प्रवचन दिएका छन् ।
ब्राजिलमा वामपन्थी पार्टी निकट ‘थिङ्क ट्याङक’ संस्था– भूमिहीन श्रमिक आन्दोलन (एमएसटी)ले १३ वर्षदेखि संंचालन गरिरहेको फल्लोरेस्टन फर्नान्डेज नेशनल स्कुलमा वरिष्ठ नेता नेपालले विहिबार प्रवचन दिएका हुन् । स्कुलमा अध्ययनरत ५० देशका प्रशिक्षार्थीहरुलाई वरिष्ठ नेता नेपालले प्रवचन दिएको उनका स्वकीय सचिव मोहन गौतमले पहिलो न्यूजलाई बताए । तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाले अवलम्बन गरिरहेको अन्तरिम कार्यक्रम जनताको जनवादसँगै वरिष्ठ नेता नेपालले जनताको बहुदलीय जनवादमार्फत नेपालको कम्युनिष्ट आन्दोलनले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट हासिल गरेको अभूतपूर्व उपलब्धि र समाजवादतर्फको यात्राबारे प्रकाश पारेका थिए ।
नेपालसँगै गत २१ गते ब्राजिल पुगेका नेकपाकै केन्द्रीय सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि नेपालको कम्युनिष्ट आन्दोलन र पार्टी एकीकरणका सन्दर्भमा स्कूलमा अनुभव राखेका छन् । दुई नेताले त्यहाँ कम्युनिष्ट पार्टीका नेता तथा संस्थाका पदाधिकारीहरुसँग दुई देशको सम्बन्ध र स्कुल संचालनको मोडलबारे पनि कुराकानी गरेका छन् ।
३४ वर्षअघि स्थापित एमएसटीका २ लाख सदस्य छन् । उक्त सस्थाले संचालन गरेको स्कूलबाट ल्याटिन अमेरिकी मुलुकसहित विश्वका बिभिन्न देशका वामपन्थी पार्टीका ४२ हजार नेता–कार्यकर्ता अहिलेसम्म दिक्षित भइसकेका छन् । सन् २००६ बाट उक्त स्कूलमा राजनीतिक विषयसँगै अन्तराष्ट्रिय कोर्सको पनि अध्यापन हुँदै आएको छ । उक्त स्कूलमा अहिले नेपालबाट पनि ५ विद्यार्थी अध्ययनरत छन् ।
मदन भण्डारी एसियन स्कूल चलाउने तयारी
यसैबीच, नेकपाले नेपालमा एसियास्तरको माक्र्सवादी स्कूल संचालन गर्ने तयारी गरिरहेको छ । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार वरिष्ठ नेता नेपाल र नेता श्रेष्ठलगायतको नेपाली टिमले नेपालमा ‘‘मदन भण्डारी एसियन स्कूल अफ माक्र्सिजम’’स्कूल संचालनका लागि त्यहाँ स्थलगत अवलोकन र अध्ययन गर्नेछ । ‘उहाँहरुले त्यहाँ कुन मोडलमा, कसरी स्कूल संचालन भइरहेको छ भन्ने अध्ययन गर्नुहुनेछ’, नेपालमा पनि त्यस्तै प्रकृतिको स्थायी स्कूल संचालनको तयारी भइरहेको जानकारी दिँदै केन्द्रीय सदस्य रिजालले भने,‘अहिले प्रारम्भिक संरचना तयार गर्न जग्गाको खोजी भइरहेको छ ।’ ८ दिने भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल २९ जेठमा स्वदेश फर्किनेछन् ।

madhav nepal narayankaji nepal

प्रतिक्रिया दिनुहोस्