ब्रिक्स सम्मेलनमा त्रिदेशीय साझेदारीमा सहमति


 ३० असोज । ब्रिक्स सम्मेलनमा त्रिदेशीय साझेदारीमा सहमति भएको छ । भारतको गोवामा जारी सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच यस्तो सहमति भएको हो ।

ब्रिक्स र बिम्स्टेक विस्तारित सम्मेलनका क्रममा गोवा पुगेका नेपालका प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट त्रिदेशीय साझेदारीको प्रस्ताव गरेका थिए । पूर्वनिर्धारित कार्यतालिकाबिना नै तीन देशका कार्यकारी प्रमुखबीच आपसी हित र त्रिपक्षीय चासोबारे अनौपचारिक कुराकानी भएको र त्यसै अनुरुप प्रक्रिया अघि बढाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच २० मिनेट ‘वान टु वान’ वार्ता समेत भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले गौतम बुद्ध, पशुपतिनाथ र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण समेत गराएका थिए ।  उनले  दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको पनि बताएका थिए  ।
भेटका अवसरमा चिनियाँ राष्ट्रपति सिले देशको भूगोल सानो र ठूलो हुनाले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताएका थिए ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य राष्ट्र रहेको ब्रिक्स अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित छ ।  यो सम्मेलन उच्च राजनेताबीच हुने सम्मेलन भएकाले पनि अन्य मुलुकका लागि पनि उत्तिकै महत्वका साथ हेरिन्छ ।   करिब दुई दशक अगाडि स्थापना भएको विमस्टेक त्यति प्रभावकारी हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्