ब्लुस्काईको लापरवाहीले प्रभातको मृत्यु भएको आरोप


पोखरामा प्याराग्लाईडिङको तालिमका क्रममा दुर्घटनामा परि प्रभात सुबेदीको मृत्युको घटना प्याराग्लाईडिङ कम्पनीको लापरवाहीले भएको सुवेदीका आफन्तले आरोप लगाएका छन् । ब्लुस्काई प्याराग्लाईडिङ कम्पनी पोखरामा प्याराग्लाईडिङ्गको तालिम लिईरहेका सुबेदीको गत असार ५ गते तालीम लिदै गर्दा मृत्यु भएको थियो । मापदन्ड निर्धारित उचाई भन्दा माथी प्रशिक्षण गराउदा दुर्घटना भई पानीमा खसेर आन्तरिक रक्तस्रावका कारण उनको मृत्यु भएको उनिहरुको आरोप छ ।

ब्लुस्काई फ्लाईड स्कुल प्रा.लि.का सञ्चालक नारायणप्रसाद पराजुली र प्रशिक्षक दामोदर पराजुली विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा कारवाहीको माग गर्दै पीडित परिवारले किटानी जाहेरी दिएका छन् । प्रहरीलाई दिइएको उजुरीमा हवाई विभागका अधिकारी तथा पर्यटन विभागका अधिकारीको समेत लापरवाही भएकोले कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३० का २६ वर्षीय सुवेदीको प्याराग्लाईडिङ प्रशिक्षणका क्रममा असार ५ गते दिउँसो साढे २ बजे करिब १५० मिटर माथिबाट फेवातालमा खसेर ज्यान गएको थियो । प्रभातका काका गजेन्द्र प्रसाद च्वाईँले प्रहरीमा कारवाहीको माग गर्दै जाहेरी दिएका हुन् ।

तालिमका क्रममा रिजर्भ प्यारासुट खोलेरमात्र ग्लाईडर बन्द गर्न लगाउनु पर्नेमा प्यारासुट नखोली ग्लाईडर बन्द गर्न प्रशिक्षकले तल रेडियो सेटबाट सूचना दिएपछि सो दुर्घटना भएको दुर्घटनाका क्रममा लिइएको भिडियो रेकर्डमा प्रष्ट देखिने गजेन्द्रले बताए । मापदण्ड पुरा नगरी सञ्चालित कम्पनिको लापरवाहीका कारण यस अघि पनि पोखरा लेकसाईडका शैलेश पहारीको मृत्यु भएको थियो । शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मृतककी माईजु तारा शर्माले ब्लु स्काई प्याराग्लाईडिङका सञ्चालकहरुलाई कडा कारवाहीको माग गर्दै प्रशिक्षण केन्द्र बन्द गर्नुपर्ने बताइन् । प्याराग्लाईडिङ तालिमका लागि आवश्यक मापदण्ड पूरा नहुदा पनि पर्यटन बिभाग र उड्डयन प्राधिकरणवाट तालिम अनुमती पत्र र मापदन्ड पूरा भएको सिफारिस दिइएको समेत शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्