भक्तपुरमा खाता खोल्ने रणनीति बनाउँदै एमाले, २४ सय नयाँ सदस्यलाई ओलीले दिए सपथ


८ माघ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई वृष वृक्षको आरोप लगाएका छन् । शनिवार भक्तपुरमा आयोजित नयाँ सदस्यलाई सपथ कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् । उनले वृष वृक्षलाई कुनै हालतमा हुर्कन नदिन दावी पनि गरे ।

प्रचण्ड नेतृत्वको सरकारप्रति निकै आक्रमक देखिएका ओलीले २०७४ मंसिरसम्म तीन तहकै निर्वाचन गर्ने प्रतिवद्धता नआए आफूहरुले बाध्य भएर सरकार हटाई दिने चेतावनीसमेत उनले दिए ।

कार्यक्रममा ओलीले २ हजार ३ सय ३३ नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । यस अघिसम्म जिल्लाभरी एमाले सदस्यको संख्या २ हजार २ सय ५३ मात्र थियो । भक्तपुरमा एमालेले दोब्वर सदस्य वृद्धि गरेसँगै आगामी निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरेको छ । जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले पनि अर्को निर्वाचनमा एमालेले चुनाव जित्ने दाबी गरे । ओली नेतृत्वको सरकारको लोकप्रिय बजेट र एमालेका युवा नेता महेश बस्नेत मन्त्री भएका बेला भक्तपुरमा भएको विकास निर्माणको प्रभावले एमालेले जित्ने निश्चित भएको दाबी एमालेको छ ।

भक्तपुरमा यस अघि राप्रपाका उपाध्यक्ष चन्दन श्रेष्ठ ,कोषाध्यक्ष मनकराम थापा, अनन्तलिङ्गेश्वर नगरपालिका माओवादी अध्यक्ष पुष्प कार्की आफ्ना सम्पूर्ण सदस्यसहित एमाले प्रवेश गरेको स्मरण गर्दै पूर्वमन्त्री बस्नेतले भने– ‘एमालेले भक्तपुरबाट जित्ने आधार यो पनि हो ।’ तरुण दल, नेमपिकालगायतका दलबाट पनि एमाले प्रवेश गर्नेको लहर भक्तपुरमा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्