भक्तपुरमा बालश्रम मुक्त तीन इँटा भट्टालाई सम्मान


भक्तपुर, १६ जेठ । सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले बालश्रम मुक्त रहेका तीन वटा ईटा भट्टा संचालकलाई सम्मान गरेको छ ।
भक्तपुरमा मंगलवार दुई नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा बालश्रम मुक्त रहेको सूर्यविनायक नगरपालिका ४ दधिकोटमा संचालित दक्षिणबाराही इँटा उद्योग, चाँगुनारायण नगरपालिका ८ सुडालमा संचालित सरस्वती माता चिम्नी उद्योग र महामञ्जुश्री इँटा उद्योगलाई सम्मान गरेको हो ।
तीन वटा इँटा भट्टा संचालकहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सदस्य शशीजंग थापाले नेपालमा बालश्रमिक १६ लाख रहेकोमा बालिका मात्रै ९ लाख रहेको भन्दै बालश्रम रोक्न स्थानीय तह सक्रिय हुनुपर्ने बताए । उनले भक्तपुर जिल्लालाई पूर्ण बालश्रम मुक्त जिल्ला बनाउँने बताउँदै सन् २०२० सम्ममा देशलाई नै बालश्रम मुक्त बनाउने सरकारको लक्ष्यलाई पुरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख युवराज भुषालले कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई आएकाले बालश्रम बिरुद्धको पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिदै अझै पनि बालबालिका भूकम्पको जोखिममा रहेको बताए ।
त्यसअवसरमा चागुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, सुर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आआफ्नो नगरक्षेत्रलाई बालश्रम मुक्त नगरपालिका बनाउँन बालबालिका सम्बध संघ संस्थाहरु सँग समन्वय र सहकार्य गर्दै विभिन्न योजनाहरुका साथ अगाडि बढिने प्रतिबद्धता व्यक्त गरे ।
चागुनारायण र सुर्यविनायक नगर स्तरीय बाल संरक्षण तथा सम्वर्धन समितिको व्यवस्थापन,सेभ द चिल्ड्रेनको सहयोग, बालविकास समाज र भक्तपुर ईटा उद्योग व्यवसायी संघको समन्वयमा भएको उक्त कार्यक्रममा नेपाल इँटा उद्योग व्यवसायी समहासंघका उपाध्यक्ष विश्वराम कवाँ, सेभ द चिल्ड्रेनका कार्यक्रम प्रमुख निलम धनुसे लगायतले बालबालिकालाई बालश्रममा नलगाउँन परिवारलाई रोजगारीको बैकल्पिक व्यबस्था गर्नुपर्नेमा जोड दिए ।bkt2

प्रतिक्रिया दिनुहोस्