भर्ना नै नगरिएका ११ हजार दरबन्दी समेटेर प्रहरीको समायोजन


काठमाडौं, २२ फागुन । भर्ना नै नगरिएका करिब ११ हजार दरबन्दीलाई समेत समेटेर गृहमन्त्रालयले प्रहरी समायोजन प्रक्रिया अघि बढाएको छ ।

संघ र प्रदेश सरकार मातहत रहने प्रहरीको संगठन र दरबन्दी कायम गर्न गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गत साता बसेको बैठकले कुल दरबन्दीको साढे १३ प्रतिशत रिक्त जनशक्ति समेटेर संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) निर्माण प्रक्रिया थालेको हो ।

गृह सचिव अध्यक्ष रहेको समितिले व्यवस्थापन महाशाखा प्रमुख रामप्रसाद आचार्यको संयोजकत्वमा उपसमिति गठन गरिसकेको छ । उपसमितिलाई ओएनएम निर्माण र समायोजन हुने प्रहरीको विवरण संकलन गर्ने जिम्मेवारी दिइएको छ ।

ओएनएमसम्बन्धी मस्यौदा निर्माणमा खटिएका एक अधिकारीले सातैवटा प्रदेशमा ५५ हजार जनशक्ति समायोजनको तयारी गरिएको बताए । नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि प्रहरी महानिरीक्षकसम्म हाल कायम ७९ हजार ५ सय २३ दरबन्दीमध्ये ६८ हजार ७ सय ७६ मात्रै कार्यरत छन् । कुल दरबन्दीमा १० हजार ७ सय ४७ जनशक्ति अभाव छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्