भारतका ‘विश्वासपात्र’ प्रधानमन्त्रीले पनि संविधानको स्वागत गराउन सक्नुभएनः एमाले


१ असोज । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आफ्नो पार्टीका नेतृत्वको सरकार हटाएर बनाइएका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारतमा गएर नेपालको संविधानको स्वागतमा वक्तव्य निकाल्न नसक्नुबाट पूर्ववर्ती सरकार ढाल्नुको औचित्य सावित नभएको बताएको छ । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव प्रदीप ज्ञवालीले भने, ‘जे कारणले सरकार हटाइयो भनिएको थियो, यसबाट त्यसको औचित्य पुष्टि भएन ।’
कार्यक्रमा एमाले महासचिव ईश्वर पोखरेलले अख्तियारले यही बेलामा लडाकुका शिविरको अनियमितताका बारेमा सुरु गरेको छानबिनलाई आफ्नो पार्टीले नजिकबाट हेरिरहेको बताए । एक प्रश्नको उत्तरमा उनले भने, ‘सबै संवैधानिक निकायहरु संविधानसम्मत रुपमा चल्नुपर्छ । हामीले सबैका गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ ।’
संविधान दिवसमा बसन्तपुरमा कार्यक्रम

एमाले पहिलो संविधान दिवसका अवसरमा असोज ३ गते बसन्तपुरमा विशेष कार्यक्रम गर्ने योजना सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा वितरित वक्तव्य यस प्रकार छः

१.आफ्नो संविधान आफैँ बनाउने नेपाली जनताको आधा शताब्दी लामो आकांक्षा र सङ्घर्षको परिणामस्वरुप जननिर्वाचित संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको असोज ३ गते एक वर्ष पूरा हुँदैछ । पहिलो संविधानसभाको असफलताको कटु अनुभवबाट पाठ सिक्दै दोस्रो संविधानसभाको निर्वाचनपछि एक वर्षभित्रै संविधान बनाउने हाम्रो प्रतिबद्धतामा के कस्ता अवरोध आए र त्यसपछि कुन अवस्थामा हामीले संविधान निर्माण गर्‍यौँ ? तपाईंहरु सबैलाई थाहै छ । संविधान बनाउनै नदिने, बनाए पनि जारी गर्न नदिने र जारी गरे पनि कार्यान्वयन गर्न नदिनेसम्मका प्रत्येक चलखेलका विरुद्ध हाम्रो पार्टी दृढतापूर्वक उभिएका कारण मुलुकले आज लोकतान्त्रिक संविधान पाएको छ । लोकतन्त्रका सर्वस्वीकार्य मान्यता, सामाजिक न्याय, राज्यमा सबै नागरिकको समान पहुँच, राज्यको अग्रगामी रुपान्तरण र अग्रगतिका आधारभूत सिद्धान्तहरुलाई आत्मसात गरेको संविधान जारी गर्न निर्वाह गरेको नेतृत्वदायी भूमिकाप्रति हाम्रो पार्टी गौरवबोध गर्दछ ।

२. प्रत्यक्ष–परोक्ष बाधा, चलखेल र षड्यन्त्रका बावजुद ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरुको सहभागिताबाट संविधान निर्माण भई जारी भएपछि सुरु भएका कार्यान्वयन हुन नदिने प्रयासहरु अहिले पनि रोकिएका छैनन् । संविधान कार्यान्वयन भएर त्यसमा के कस्ता जटिलता देखा पर्दछन्, त्यसका आधारमा आवश्यक संशोधन गरेर समृद्ध बनाउँदै जानु स्वाभाविक हुन्छ । तर, संविधानको कार्यान्वयन नै सुरु नहुँदै त्यसमा संशोधन गर्नुपर्ने माग अन्तत: संविधान कार्यान्वयन हुन नदिने योजनाबाहेक केही हुन सक्दैन । संविधानसभाको संरचना, हामीले अवलम्बन गरेको समावेशीकरणको अभ्यास र आजको युगको आवश्यकता जस्ता कुराले कुनै पनि समुदाय, जाति, भाषा, क्षेत्र वा सम्प्रदायलाई अस्वीकार र उपेक्षा गरेर संविधान बन्ने कल्पना पनि गर्न असम्भव छ । संविधान नबन्दैदेखि ‘कुनै पनि हालतमा बन्न दिन्नौँ’ भनेर लागेकाहरु नै संविधान बनेपछि त्यसलाई असफल पार्न संशोधनको कुरा उठाउन उद्यत छन् । नेपाली जनताले २०६२/०६३ को जनआन्दोलनमार्फत हासिल गरेको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीकरण जस्ता उपलब्धिहरुलाई संस्थागत गर्ने एक मात्र माध्यम संविधान हो । यस्तो अवस्थामा संविधान कार्यान्वयन आजको प्रमुख कार्यभार बनेको छ । हाम्रो पार्टी नेपाली जनताको बलिदानको जगमा निर्माण भएको नेपालको संविधानको रक्षा र कार्यान्वयनका लागि दृढ छ ।

14390629_10211031456809083_3483185069468988495_n३. संविधानले आफ्नो कार्यान्वयनका लागि आफैँ बाटो देखाएको छ । संविधान जारी भएको करिब दुई वर्षमा तीनै तहका निर्वाचन गरेपछि मात्रै यो संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि, सामाजिक न्याय, न्यायोचित विकास र समग्र उन्नतिको ढोका खुल्दछ । तर, संविधान जारी भएपछि लगातार रुपमा यसलाई असफल पार्न भइररहेका कोसिसहरुकै परिणामस्वरुप निर्वाचनलाई उपेक्षा गर्ने काम भइरहेको छ । यसअघि हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयनको विस्तृत कार्ययोजना बनाई १८ महिनामा तीनै तहका निर्वाचन सम्पन्न गर्ने मार्गचित्र संसद्समक्ष पेस गरेको थियो । तर, त्यसलगत्तै उक्त सरकारलाई मात्र हटाइएन, स्थानीय तहको पुन:संरचनामा आलटाल गराउने र निर्वाचनलाई पर धकेल्ने काम योजनाबद्ध रुपमा भइरहेको छ । मंसिरमा स्थानीय तह, चैतमा प्रदेश तह र अर्को वर्षको मंसिरमा केन्द्रीय तहको निर्वाचन गरेर वर्तमान व्यवस्थापिका–संसद्को म्याद सकिनु अगावै २०७४ माघ ७ भित्र सबै जनप्रतिनिधिमुलुक निकाय खडा गरेर संविधान कार्यान्वयन गर्ने हाम्रो योजना तुहाएर वर्तमान सरकार निर्वाचन नगर्ने दिशामा अघि बढेको छ । जानजान मुलुकलाई संवैधानिक शून्यतातिर लैजाने र राजनीतिक सङ्कट खडा गर्ने यस प्रयत्नप्रति हाम्रो पार्टी सचेत छ र त्यसका विरुद्धमा दृढतापूर्वक सङ्घर्षरत छ । अत: हामी निर्धारित समयमा निर्वाचन गरी मुलुकको लोकतन्त्र र संविधानलाई कार्यान्वयन गर्नमा आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैमा हार्दिक अपिल गर्दछौँ ।

४. जनताका प्रतिनिधिका रुपमा यो संविधान हामीले बनाएका हौँ र यसको स्वामित्व हामी लिन्छौँ । त्यही भएरै यसको रक्षा र कार्यान्वयनमा हामी दृढतापूर्वक उभिन्छौँ । नेकपा (एमाले) ले यही असोज ३ गते पहिलो संविधान दिवस भव्यताका साथ मनाउन गइरहेको छ । हामीले उक्त दिन अपरान्ह १ बजे काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा जम्मा भएर २ बजे बसन्तपुर पुगी संविधान दिवस मनाउने कार्यक्रम तय गरेका छौँ । उक्त कार्यक्रममा हाम्रो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । उक्त कार्यक्रम तपाईं–हामी सबैको भएकाले आवश्यक मात्रामा आ–आफ्नो ठाउँबाट सहयोग गर्नुका साथै समाचार सम्प्रेषणमा विशेष भूमिका निर्वाह गरिदिन सम्पूर्ण सञ्चारकर्मी मित्रहरुलाई हादिक अनुरोध गर्दछौँ ।

प्रदीप ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय

प्रतिक्रिया दिनुहोस्