भारतको उत्तर प्रदेशमा रेल दूर्घटना हुँदा ९७ जनाको मृत्यु, १ सय ५० घाइते


५ मङ्सिर । आइतबार बिहान ३ बजेर दस मिनेट जाँदै थियो । त्यही बेला, इन्दौरबाट पटनातिर गुडिरहेको रेल कानपुरमा दूर्घटनाग्रस्त हुन पुग्यो । भारतको उत्तर प्रदेशमा भएको यो रेल दुर्घटनामा कम्तीमा ९७ व्यक्तिको मृत्यु भएको छ ।दुर्घटनामा परेर १ सय ५० भन्दा बढी घाइते भएका छन् ।

सुरुमा उक्त दूर्घटनामा ६३ जनाको मृत्यु भएको जानकारी दिइएको थियो । तर गम्भीर घाइते भएका व्यक्तिहरुको समेत मृत्यु भएपछि मृतकको सङ्ख्या ९१ पुगेको हो ।

उत्तर प्रदेशको कानपुर सहरसँगैको पुख्रायान क्षेत्रनजिकै स्थानीय समयानुसार आइतबार बिहान साढे तीन बजे इन्दौर–पटना एक्सप्रेस नामक उक्त रेल दुर्घटना भएको बताइएको छ । सो रेलका करिब १४ वटा डिब्बा पटरीबाट छुट्टिएर दुर्घटना भएको छ । रेल दुर्घटना भएको बेला अधिकांश यात्रुहरु निदाइरहेका थिए ।

दुर्घटनामा परी घाइते भएकाहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र धेरैको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङख्या बढ्नेसमेत प्रहरीको अनुमान रहेको छ । घटनास्थलमा उद्धारकर्मीहरुले दुर्घटनाग्रस्त रेलमा अड्किएकाहरुको शव निकाल्ने र रेललाई हटाउने प्रयास गरिरहेका छन् । उद्धार कार्य जारी नै रहेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रेल मन्त्री सुरेश प्रभुलाई घटनाका बारेमा नजिकबाट नियाल्न आग्रह गरेका छन् । भारतीय रेलवे अधिकारी विजय कुमारले रेल दुर्घटनाको कारण अहिलेसम्म प्रष्ट नभएको सञ्चारकर्मीहरुलाई बताएका छन् । उनले घटनाका बारेमा अनुसन्धान गर्ने तयारी भइरहेको पनि जानकारी दिएका छन् ।

सन् २०१४ मा उत्तर प्रदेशमा भएको रेल दूर्घटनामा २६ व्यक्तिको मृत्यु भएको थियो । गएको वर्ष पनि मध्य प्रदेशमा दुई वटा रेल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्