भारतमा कोरोनाबाट दुईको मृत्यु, सय भन्दा बढी संक्रमित


काठमाडौं, ३ चैत । भारतमा कोभिड–१९ को संक्रमण बढेको छ । भारतमा आइतवारसम्म १०८ जना संक्रमित फेला परेका छन् । संक्रमितमध्ये १७ जना विदेशी रहेका छन् ।

हालसम्म भारतमा २ जनाको मृत्यु भएको छ । भारत सरकारले जनतालाई सतर्क रहन आग्रह गरेको छ । भारत सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याइरहेको छ ।

भारतीय अधिकारीले इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन् । कोभिड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका २२० यात्रुलाई भारतको एयर इन्डिया विमानबाट नयाँदिल्ली ल्याइएको छ । उनीहरू आइतबार बिहान नयाँदिल्ली आइपुगेका हुन् ।

भारतीय सहायक विदेशमन्त्री भी मुरलीधरणले ट्वीट गर्दै इटालीको मिलानबाट २११ जना भारतीय विद्यार्थी समेत २१८ जनालाई उद्धार गरिएको जानकारी दिएका छन् । विश्वभर अलपत्र परेका जोकोही भारतीयलाई उद्धार गर्न भारत सरकार तत्पर रहेको पनि उनले बताएका छन् ।

यसैगरी इरानमा अलपत्र परेका २३४ जना भारतीय पनि नयाँदिल्ली आइपुगेका छन् । एयर इन्डियाका दुईवटा उडानबाट ती सबै यात्रुलाई राजस्थानस्थित जैसलमेरमा भारतीय सेनाद्वारा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिएको छ ।

संक्रमण रोक्न भारत सरकारले विभिन्न उपाय अवलम्बन गरेको छ । धेरैजसो राज्यमा शैक्षिक संस्था र सिनेमाघर मार्च ३१ सम्म बन्द गरिएका छन्। अधिकांश खेल कार्यक्रम पनि रद्द गरिएका छन् । मानिसलाई अनावश्यक विदेश भ्रमण नगर्न र ठूलो समूहमा भेला नहुन सरकारले अनुरोध गरेको छ ।

भारतमा हालसम्म कोरोनाकै कारण २ व्यक्तिको मृत्यु भइसकेको छ । तीमध्ये साउदी अरेबियाको भ्रमण गरेका एक जना कर्नाटक राज्यका ७६ वर्षीय पुरुष तथा स्वीजरल्यान्ड र इटाली भ्रमण गरेकी पश्चिम दिल्लीकी ६८ वर्षीया एक महिला रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्