भारतलाई ओलीको खुला चुनौती– ‘हामीलाई गरिखान देऊ, हामी गरिखान सक्छौँ’


२२ चैत । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अन्याय नसहने र न्यायको पक्ष लिनेबाहेक अरु ध्येय नेपालसँग नभएको भन्दै छिमेकी मुलुक भारतलाई अनावश्यक हस्तक्षेप नगर्न सुझाव दिएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पुरस्कार वितरण कार्यक्रममा सम्वोधन गर्दै ओलीले यस्तो सुझाव दिएका हुन् । उनले भारतप्रति लक्षित गर्दै भने– ‘छिमेकी मुलुकको जिम्मेवारी सक्ने भए सहयोग गर्ने हो, अनावश्यक हस्तक्षेप होइन ।

ओलीले आफू प्रधानमन्त्री भएका बेला भारतले लगाएको नाकाबन्दीको पनि स्मरण गरे । छिमेकी भारतले गत वर्ष लगाएको नाकाबन्दी हामीले भुलेका छैनौँ,’ उनले भने, ‘सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान देऊ, हामी गरिखान सक्छौँ ।’

उनले भारतले बढी नै हस्तक्षेप गरेको जिकिर पनि गरे । नेपालमा कुनै सडक वा नयाँ विकासका आयोजना सञ्चालन गर्न लाग्दा छिमेकी भारतले सुरक्षा र अन्य कारणले अवरोधको प्रयास गर्ने गरेको पनि स्मरण गरे । नेपालको अर्थतन्त्र भारतसँग मात्र निर्भर भएको भन्दै आफ्नो पालामा चीनसँगको बाटो खोल्ने प्रयास भएको उनले खुलासा गरे । उनले खुलेरै भारत रिसाउने स्थितिलाई तोडेर पारस्परिक लाभको सम्बन्ध विस्तार गर्न आफूहरुले चाहेको पनि स्मरण गराए ।

‘हाम्रा मनमा कुनै वैरभाव छैन, दुष्मनी छैन, अन्याय नसहने र न्यायको पक्ष लिनेबाहेक अरु ध्येय छैन । हामी देश, देशका जनता र मानव जातिको सुख र शान्ति चाहन्छौँ,,’ उनले भने, ‘यसो भन्दा खोक्रो राष्ट्रवादको आरोप लगाइन्छ भने केही भन्नु छैन ।’

प्रतिक्रिया दिनुहोस्