भारतले नेपाली भूमि मिचेर यसरी खन्यो मानसरोवर जोड्ने सडक


काठमाडौं, २७ बैसाख :  कोरोनाभाइरस (कोभिड–१९) को महामारीकैबिच भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । भारतले नेपाली भूमी मिचेर लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको हो ।

भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रमा नेपाली भूमी मिचेर लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । यो सन् १८१६ को सुगौली सन्धि विपरित पनि हो । सन्धी अनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो ।

नेपाली भूमि भित्रबाट ७८ किलो मिटर लामो सडक खन्दा समेत भारतले नेपाललाई कुनै जानकारी गराएन । तर, शुक्रबार एकाएक सडक उद्घाटन गरिएपछि अहिले यसले दुई देशबीचको सीमा विवादलाई चर्काएको छ ।

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको यो सडकले नेपाल–भारतबीच फेरि सीमा विवाद चर्काएको छ ।

शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीमा उद्घाटन गरेको ७८ किलोमिटर लामो यो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । यसबारे नेपाल सरकारले आफ्नो दूताबासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गर्दा समेत नेपाल सरकार अनभिज्ञ रहनु दुःखद भएको भन्दै सर्वसाधरण र विज्ञहरुले सरकारको आलोचना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्