भारतीय दबाबले पशुपति लाचार भएपछि एकीकरण भाँडियोः कमल थापा


२५ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीयहरुको दबाबका कारण राप्रपा नेपाल र राप्रपाबीचको एकीकरण प्रक्रिया अन्तिम समयमा आएर रोकिएको आरोप लगाएका छन् ।

आज राप्रपा नेपाल र राप्रपाबीच एकीकरण हुने तय भएको थियो । तर, सोमबार बेलुका राप्रपा अध्यक्ष कमल पशुपति शम्शेर जवराले एक विज्ञप्ति निकाली मंगलबार हुने एकीकरण प्रक्रिया तत्कालका लागि रोकिएको घोषणा गरेपछि दुई पार्टी बीचको एकीकरण प्रक्रिया रोकिएको थियो ।

पार्टी एकीकरण प्रक्रिया अन्तिम समयमा आएर किन रोकिया ? भन्ने विषयमा जानकारी दिन राप्रपा नेपाले मंगलबार राजधानीको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले राप्रपा अध्यक्ष राणाले पार्टी एकीकरणलाई भन्दा पनि सत्तालाई केन्द्रमा राखेकाले एकीकरण प्रक्रिया रोकिएको पनि दाबी गरे ।

‘उहाँ ( पशुपतिजी) ले सोमबार बोलाउनुभएको थियो,’ पत्रकार सम्मेलनमा थापाले भने, ‘मलाई प्रचण्डजीको नेतृत्वको सरकारमा दुई जना मन्त्री पठाउनु पर्ने बाध्यता भयो । यसले पार्टी एकीकरण प्रक्रियामा कस्तो असर गर्छ भनेर सोध्नुभयो । मैले यसले गम्भीर असर गर्छ भने ।’

थापाले त्यति भनेर आफू फर्किएको भन्दै राणाले आफ्नो कुरालाई गम्भीर रुपमा लिनुभयो होला भनेको तर बेलुका विज्ञप्ति निकालेर एकीकरण प्रक्रियामा सहभागी नहुन उर्दी जारी गरेकाले आश्चर्य चकित भएको बताए । ‘पसपतिजीको लाचारीपन र अदृष्य शक्तिको दबाबले गर्दा दुई पार्टीबीचको एकीकरण प्रक्रियाले अन्तिम समयमा आएर मूर्तरुप लिन सकेन,’ थापाले भने, ‘अब दुई पार्टीबीचको एकीकरणको अध्याय समाप्त भयो । यो सबै पसुपतिजीकै कारण भएको हो । सबै दोषको भागिदार उहाँ नै हुनुपर्छ ।’

राप्रपा नेपालकै जब्बर राष्ट्रवादी शक्ति

थापाले राप्रपा नेपाल जब्बर राष्ट्रवादी शक्ति भएको देश–विदेशका शक्तिले थाहा पाएकाले आफूहरुलाई दवाव नदिएको भन्दै राणाहरु दबाबमा परेका आरोप लगाए । ‘सरकारमा सहभागी दल माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउँदा पशुपतिजी भारतमा हुनुहुन्थ्यो ।

त्यसपछि तत्काल उहाँ भ्रमरण छोट्याए फर्किनु भयो र सरकारबाट मन्त्री फिर्ता बोलाउनुभयो,’ थापाले भने, ‘अहिले उहाँले नै प्रचण्ड नेतृत्वको सरकारमा दुई मन्त्री पठाउनु भयो र एकता प्रक्रिया भाँड्नुभयो । अब उहाँलाई कुन शक्तिको दवाव आयो ? पत्रकार साथीहरुले खोज्नुहोला । देशका लागि पनि गुण लाग्नेछ ।’

पशुपतिजीले बेइमानी गर्नुभयो

थापाले राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणाले बेइमानी गरेको पनि अरोप लगाए । ‘उहाँले झूट बोल्नुभयो,’ थापाले भने, ‘उहाँ अदृष्य शक्तिको दवावमा परेर एकता प्रक्रिया नै भाँड्ने अवस्थामा पुग्नुभयो । अहिले पनि उहाँले विभिन्न कुरा गरेर झूट बोलिरहनु भएको छ ।’ उनले आफूहरु नैतिकताको राजनीति गर्ने भएकाले वलियो राष्ट्रवादी र बैकल्पिक प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा अझै निरन्तर लागि रहने बताए ।

प्रतिक्रिया दिनुहोस्