भारतीय प्रधानमन्त्रीलाई स्वागत गर्न प्रधानमन्त्री ओली जनकपुरमा


काठमाडौ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुर पुगेका छन् ।

केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुगेपछि प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी सवार विमान केहीबेरमा जनकपुरको बाह्रबिघा मैदानमा अवतरण हुनेछ । त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री मोदीको स्वागत गर्ने र त्यसपछि जानकी मन्दिरमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पुजाअर्चना गर्नुका साथै रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

उनले भ्रमणका क्रममा सञ्चारकर्मीहरुको सहज पहुँचका लागि आवश्यक सहजीकरण भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्