भारतीय राजदूत मन्जिभ सिंह ओली निवासमा–‘भारत पहिला जस्तो छैन, सम्बन्ध सुधार गरौँ’


१८ साउन । नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह बुधबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्नुभएको छ । ११ अगष्टमा काठमाडौँमा भारतीय दूतावासले भारतको ७० औँ स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको एक कार्यक्रममा निम्ता दिन सिंह बालकोट पुग्नुभएको हो ।

ओली र सिंहबीच करिब दुई घण्टा औपचारिक छलफल भएको थियो । छलफलमा ओलीले नेपाल र भारतबीचको सम्वन्ध हार्दिकतापूर्ण रहेको भन्दै केहीको व्यक्तिगत स्वार्थका कारण समस्या भएको धारणा राख्नु भएको थियो । ‘नेपाल–भारतबीचको सम्वन्ध निकै हार्दिकतापूर्ण छ,’ छलफलमा ओलीले भनेको कुरा उध्रित गर्दै स्वकीय सचिव अनिश दाहालले भन्नुभयो, ‘एक–दुई दर्जन व्यक्तिका व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर गरिएका गतिविधिले समस्या भएको छ ।’

छलफलमा ओलीले स्थानीय निर्वाचनका क्रममा कांग्रेस–माओवादीले गरेको असहयोग, असहयोगका बीच पनि एमालेले प्राप्त गरेको पोजिसनलगायतका बारेमा जानकारी गराउनु भएको थियो । ‘वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिला पूर्व राजा ज्ञानेन्द्रले असक्षम घोषणा गरेका थिए । अहिले उहाँ आफैँ असक्षम बन्ने काम गर्दै हुनुहुन्छ,’ ओलीले छलफलमा भन्नुभयो, ‘उहाँ असक्षमको बिल्ला लगाउन आतुर बन्नुभएको छ । उहाँका गतिविधिले त्यही पुष्टि गरेको छ ।’
उहाँले छलफलकै क्रममा प्रदेश तहको भन्दा पनि केन्द्रीय निर्वाचन अहिलेको आवश्यकता भएको भन्दै सरकार केन्द्रीय निर्वाचन टार्ने खेलमा लागेको आरोप लगाउनुभयो ।

भेटमा सिंहले नेपाल–भारतबीच धार्मिक, साँस्कृतिक र पारस्पारिक सम्वन्ध रहेको भन्दै दुई देशबीचको निकटता अन्य देशसँगको भन्दा फरक रहेको बताउनुभयो ।

उहाँले भारत पहिलाको जस्तो नभएको भन्दै भारतले नेपालसँग द्वन्द्व होइन पारस्पारिक सम्वन्ध चाहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्