भारतीय राजदूत राजनीतिक भेटघाटमा व्यस्त, चुनावमा सहयोग गर्ने प्रतिवद्धता


चैत १५ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जीभसिंह पुरी र नेपालका गृहमन्त्री बिमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार सिंहदरवारमा भेटवार्ता भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकै भोलिपल्टदेखि राजदूत पुरी राजनीतिक भेटघाटमा व्यस्त बनेका थिए । आइतबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका उनले सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

शनिबार नेपाल आएका पुरीले आज उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिसँग भेट गरेका हुन् । भेटमा पुरीले भारतले स्थानीय तहको निर्वाचन र दुई पक्षीय सुरक्षाका विषयमा चासो व्यक्त गरेको जानकारी गराएका थिए । भेटमा गृहमन्त्री निधिले निर्वाचनका लागि लजिष्टिक सहयोग मागेका थिए । भेटमा आतंकवादको गम्भीर चुनौतीको सामनाका लागि दुई देशका बीचमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको थियो । भेटमा यही वैशाख ३१ गते हुने भनिएको स्थानीय निर्वाचनको तयारीका विषयमा समेत कुराकानी भएको थियो । त्यो विषयमा पुरीले नै जिज्ञासा राखेका थिए ।

त्यसैगरी पुरीले नेपालको संविधानसभा निर्वाचनका बेला पनि भारत सरकारले चुनावका लागि आवश्यक सामग्री सहयोग गरेको स्मरण गराउँदै आगामी निर्वाचनमा पनि सहयोग गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्