भारतीय राजदूत रेलाई अनावश्यक चलखेल नगर्न युवा संघको चेतावनी


 ५ असोज  । भारतीय राजदूत रञ्जित रेले आफ्नो पदीय मर्यादाको समेत ख्यालन नगरी अनावश्यक राजनीतिक चलखेल गरेको भन्दै युवा संघ नेपालले त्यस्ता खाले गतिविधि नगर्न सुझाव दिएको छ । युवा संघका प्रवक्ता प्रभात विक्रम कटुवालले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

पछिल्लो समय छिमेकी मुलुक भारतका राजदूत रञ्जित रेले पदीय मर्यादाको कुनै हेक्का नराखी आफ्ना गतिविधिहरु सञ्चालन गरेको प्रति युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ‘देशको राजनीतिक र प्रशासनिक गतिविधिहरुमा राजदूत जस्तो व्यक्तिले आफ्नो पदीय मर्यादा र भूमिका भुल्नु राम्रो होइन ।  नेपालको आन्तरिक राजनीतिमा अनावश्यक र पदीय मर्यादा भुलेर कुनै पनि गतिविधि नगर्न राजदूत रेलाई आग्रह गर्दछौं ।’

विज्ञप्तिमा नेपालले कहिल्यै कुनै देशको हस्तक्षेप स्वीकार गर्न नसक्ने पनि उल्लेख गरिएको छ  । ‘नेपालको सार्वभौम सत्ताको ख्याल नगरी कतिपय अवाञ्छित गतिविधि देखिएका छन,’ विज्ञप्तिमा भनिएको छ ‘यहाँका सानातिना राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका क्रियाकलापमा समेत अनावश्यक चासो र हस्तक्षेप भए  युवा संघ चुप लागेर बस्दैन ।’

प्रतिक्रिया दिनुहोस्