भारतीय राष्ट्रपति मुखर्जी र नेपालका पूर्वप्रधानमन्त्री माधव नेपालबीच भेटवार्ता, के–के भयो कुराकानी ?


१८ कात्तिक । नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पशुपतिनाथको दर्शन गर्नु अघि मुखर्जी बसेको होटल हायतमा उनीहरुबीच भेटवार्ता भएको हो । मुखर्जी र नेपाल पुराना मित्र पनि हुन् ।

मुखर्जी र नेपालबीच मुलुकको पछिल्लो राजनीति, संविधान कार्यान्वयलगायतका विषयमा कुराकानी भएको थियो ।  नेकपा (एमाले) वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माले जारी गरेको विज्ञप्तिमा पनि मुखर्जी र नेपालबीच दुई देशका आपसी हित र पारस्परिक चासोका विषयमा कुराकानी भएको  उल्लेख गरिएको छ ।

‘दुई देशका नेताहरू बिचको भेटघाटले अनुभवको आदान–प्रदान हुने र नेपाल भारतबीच रहिआएको सम्बन्ध अझ प्रगाढ हुने र सुदृढ हुने विचार व्यक्त गर्दै महामहिम राष्ट्रपति मुखर्जीले पूर्वप्रधानमन्त्री नेपाललाई भारत भ्रमणका लागि निमन्त्रणा गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेता नेपालले दुई देशबीच कायम रहेको अद्धितीय ऐतिहासिक सम्बन्धलाई आपसी हित र समृद्धिका लागि अझ सुदृढ पार्नुपर्ने विषयमा जोड दिनुभयो ।’ ​

सन् २०१२ मा कांग्रेस सत्तामै रहेका बेला भारतीय राष्ट्रपति प्रतिभा पाटिलको कार्यकाल सकिएपछि राष्ट्रपति बनेका मुखर्जी माधव नेपाल नेपालकै प्रधानमन्त्री रहेका बेला नोभेम्बर २०११ मा अर्थमन्त्रीका रुपमा नेपाल भ्रमणमा आएका थिए ।

त्यतिबेला भारतमा मनमोहनसिंहको सरकार थियो । भारतका १३ औं राष्ट्रपति मुखर्जीे छिमेकी देश नेपालबारे चासो राख्ने मध्येका एक हुन् । तत्कालीन नेकपा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन र१२ बु्ँदे समझदारी गराउन पनि मुखर्जीले भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्