भारतीय राष्ट्रपति मुखर्जी पोखरा जाँदै


१९ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार मध्यान्ह पोखरा जाँदै छन् । कार्यक्रमअनुसार राष्ट्रपति मुखर्जी मध्याह्न १२ः४५ बजे पोखरा विमानस्थलमा आइपुग्नुहुने पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिए ।

पोखरा विमानस्थलमा राष्ट्रपति मुखर्जीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बराल, पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल लगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

क्षेत्रीय प्रशासक बरालका अनुसार पोखरा भ्रमणलाई भव्य रुपमा सफल बनाउनका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको छ । राष्ट्रपति मुखर्जीलाई पोखरा विमानस्थलदेखि उनले केही समय आराम गर्ने विरौटास्थित पोखरा ग्रान्ड होटलसम्म विभिन्न टोल समुदायका सर्वसाधारणले स्वागत गर्नेछन् ।

त्यस्तै, विमानस्थलबाट राष्ट्रपति मुखर्जीले दिउँसो ३ बजे सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहित स्वागत गरिनेछ । भारतीय पेन्सन क्याम्पमा सम्बोधन गरेपछि उनी काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्