भारतीय विदेशमन्त्री आज काठमाडौं आउँदै


 

काठमाडौँ, ४ भदौ । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठक आज (बुधबार) अपराह्न काठमाडौंमा बस्दै छ । बैठकमा सहभागी हुन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री डा सुव्रमण्यम जयशंकर बुधबार नै आउँदै छन् । भारतमा नरेन्द्र मोदी नेतृत्वको दोस्रो सरकार गठन भएपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बुधबार अपराह्न आयोगको बैठक सुरु हुने बताए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् । संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ । राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल हुनेछ ।

नेपालले दुई देशका प्रधानमन्त्रीको तहमा डुबानबारे दुईपटक छलफल भएको र दुईवटा संयुक्त प्राविधिक टोलीले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदन कार्यान्वयनमा जोड दिनेछ । ‘दुवै प्राविधिक टोलीको प्रतिवेदनमा भारतले नदीको प्राकृतिक बहाव अवरुद्ध गरेका कारण डुबानको समस्या देखिएको उल्लेख गरेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार सञ्चारकर्मीसँग भने, ‘हामी यो प्रतिवेदन कार्यान्वयन होस् भन्ने चाहन्छौँ । यही विषय बैठकमा पनि राख्नेछौँ ।’ बैठकमा नेपालले प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन बुझ्न भारतलाई आग्रह गर्नेछ । नेपालले सार्क सक्रिय हुनुपर्ने धारणा पनि राख्नेछ । बैठकपछि ५ भदौमा संयुक्त वक्तव्य जारी हुनेछ ।

परराष्ट्रमन्त्रीस्तरीय आयोग नेपाल–भारतबीचको सबैभन्दा उपल्लो तहको द्विपक्षीय संयन्त्र हो । सन् १९८८ मा पहिलो र सन् २०१४ मा तेस्रो बैठक नेपालमा तथा सन् १९९१ मा दोस्रो र सन् २०१७ मा चौथो बैठक भारतमा भएको थियो ।

विज्ञ के भन्छन् ?
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले आयोग बैठकपछि दुई देशबीच समबन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । अहिले नेपाल–भारत सम्बन्ध विश्वासको जगमा उभिएको र राजनीतिक तहमा नियमित संवाद भइरहेको उनको भनाइ थियो । उनले इपिजीको प्रतिवेदन दुवै सरकारले बुझ्ने र कार्यान्वयनमा जाने विश्वास पनि व्यक्ति गरे । ‘हामीले दुई वर्ष लगाएर राम्रो प्रतिवेदन तयार पारेको हुनाले भारतले प्रतिवेदन बुझ्छ भन्ने हाम्रो विश्वास छ,’ भट्टराईले मंगलबार एक कार्यक्रममा भने ।

भारतका लागि पूर्वराजदूत डा दुर्गेशमान सिंहले भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताए । संयुक्त आयोगको बैठक दुवै देशका लागि उचित फोरम भएको सुनाउँदै सबै पक्षमा खुलेर कुराकानी गर्नुपर्ने उनले सुझाए । सिंहले अहिले नेपाल–भारतबीच कुनै पनि समस्या नरहेको दाबी गरे ।(नयाँ पत्रिकाबाट)

प्रतिक्रिया दिनुहोस्