भारत भ्रमणबाट फर्किदा प्रचण्डको शीर नझुकोस्ः खनाल


३० भदौ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले आवश्यक गृहकार्य नगर्दा नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा विवादमा पर्ने गरेको बताएका छन् ।

भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उनले भारत भ्रमण जानुअघि प्रधानमन्त्रीले जुन ढङ्गको गृहकार्य गर्नुपर्ने हो त्यो नहुँदा फस्ने गरेको बताए । ‘आफ्नै कारणले फसेका पनि छन् र फसाइएका पनि छन्,’ उनले भने । आफू दह्रो भएर नजाँदा फसेका र फसाइएका प्रशस्त उदाहरण रहेको पनि दाबी गरे ।
‘भारत जाँदा जुन शीर ठाडो छ, आउँदा शीर निहुराउन नपरोस् भन्ने हामी चाहन्छौँ,’ उनले भने । राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखेर सन्धिसम्झौता गर्नुपर्ने सुझावसहित नेकपा एमालेले के गर्दा राम्रो हुन्छ भन्ने विषयमा एक ज्ञापनपत्र समेत दिएको उनले जानकारी दिए । ‘एमालेले लोकतन्त्र, राष्ट्रियता, सीमा, देशको सार्वभौमसत्तालगायतका विषयमा गम्भीर हुन सुझाएको छ,’ उनले भने ।

भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने नेता खनालको धारणा छ । मुलुकको विदेश नीति सत्ता पक्ष र विपक्षको फरक कहिल्यै हुन नहुने पनि उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्