प्रधानमन्त्रीको भारत भ्रमण घुमफिरका लागि मात्रै होः उपेन्द्र यादव


२८ भदौ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालसँग निकै असन्तुष्ट रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई एजेण्डा बिनाको यात्रा बताएका छन् ।

‘प्रधानमन्त्रीले औपचारिक विदेश भ्रमणलाई हल्काफुल्का रुपमा हेरेको जस्तो लागेको छ,’ पहिलो न्युजसँग कुराकानी गर्दै यादवले भने ‘प्रधानमन्त्रीले विदेश भ्रमण गर्ने भनेपछि त्यहाँ केही निश्चित एजेण्डा हुन्छन् । तर उहाँ कुनै पनि एजेण्डा लिएर भारत भ्रमणमा जान लागेजस्तो मलाई लागेको छैन ।’

पार्टी कामको सिलसिलामा तराई–मधेसका जिल्लामा रहेका यादवले भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले सामान्य छलफलसमेत नगरेको बताए । ‘प्रधानमन्त्रीले आज छलफल गर्ने भन्नुभएको छ,’ छलफलकै लागि राजधानी आउने तयारीमा रहेका यादवले बिना एजेण्डा प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणमा नजान सल्लाह दिए । फाष्टट्रयाक कसले बनाउने ? हुलाकी राजमार्ग के हो ? रेलमार्गका बारेमा के गर्ने ? भन्ने जस्ता धेरै एजेण्डा भए पनि प्रचण्ड बिना एजेण्डा भारत भ्रमणमा जान लागेको आरोप उनले लगाए ।

नेता यादवले भारतले नेपालमा विकास होस्, नेपाल सम्बृद्ध होस् भन्ने चाहे पनि बिना एजेण्डा र हल्काफुल्का ढंगले भारत भ्रमणको तयारीमा लागेको आरोप लगाएका हुन् । प्रचण्डको भारत भ्रमण घुमफिरका लागि जस्तो मात्र हुने पनि यादवले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्