भिक्षुको अवधि सकिएपछि अजितमान उपाध्यक्ष बन्न सक्रिय


३२ साउन । लुम्बिनी विकास कोषको सदस्य–सचिव अजितमान तामाङको पाँच वर्षे आफ्नो कार्यकाल नसकिँदै एक हप्तादेखि खाली रहेको उपाध्यक्ष पद पाउने दौडधुपमा लागेका छन् । उपाध्यक्ष भिक्षु निग्रोधको पदावधि साउन २३ गते सकिएपछि सदस्य–सचिव तामाङले सो पदका निम्ति आफू र केही सहयोगीहरुलाई समेत परिचालन गरेका छन् ।

अहिले तामाङलाई उपाध्यक्ष बनाउन जय हनुमान कन्स्ट्रक्सनबाट लुम्बिनी क्षेत्रको साइड हेर्ने जिम्मा पाएका शालिग्राम विष्ट सक्रियतापूर्वक लागिपरेका छन् । अचेल विष्टले ‘जति पैसा खर्च गर्न परे पनि गर्छु र तामाङलाई नै उपाध्यक्ष बनाउँछु’ भन्दै दौडधुप गरिरहेको बताइन्छ ।

तामाङलाई उपाध्यक्ष बनाउनका लागि विष्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवलाई भेटिसकेका छन् । मन्त्री देवलाई भेटेर उनले तामाङलाई उपाध्यक्ष बनाउन आग्रह गरे पनि मन्त्रीले भने सकारात्मक जवाफ नदिएको बताइन्छ । मन्त्री देवले भने ‘म भ्रष्ट मानिसलाई ल्याउदिन्न, राम्रो मान्छेलाई बनाउँछु’ भनेर जवाफ दिइसकेको बताइन्छ ।

यसैगरी, लुम्बिनी गुरुयोजनाभित्र पानी वितरण गर्नका लागि बनाइएको ट्यांकीमा अनियमितता भएको बुझिएको छ । कोषले जय हनुमान कन्स्ट्रक्सनलाई ९ लाख लिटर क्षमताको पानी ट्यांकी बनाउन २९ करोड रुपियाँमा ठेक्का दिइएको थियो । कोषका सदस्य–सचिव तामाङ र मूल्यांकन समितिका मानिसहरु मिलेर उक्त कन्स्ट्रक्सनलाई ४० प्रतिशत बिलोमा पानी ट्यांकी निर्माणको ठेक्का दिइएको थियो । सो कम्पनीलाई ठेक्का दिँदा तामाङ र समितिमा रहेका सरोज भट्टराई, अफजल हुसेन पठान र लेखा प्रमुख भीम बस्नेतले २ करोड कमिसन लिएको कुरा अहिले लुम्बिनीभरि चर्चा छ ।

सो कम्पनीलाई माथि एउटा र जमिनमुनि दुईटा ट्यांकी बनाउन ठेक्का दिइएको थियो । तर, जमिनमुनि करिब २ लाख लिटर पानी अट्ने क्षमताको ट्यांकी बनाउँदा भने अनियमितता भएको बताइन्छ । जमिनमुनि बनाउने २ वटा ट्यांकीमध्ये एउटामा ३ मिटरजति ढलान गरेपछि एक्कासी २ मिटर ढलानको भाग उठेपछि हल्लीखल्ली मच्चिएको छ । त्यो २ मिटर कसरी माथि उठ्यो ? भनेर कसैले प्रश्न गर्दा इन्जिनियर हुसेनले ‘तल पानी परेर माथि उठेको’ जवाफ दिएपछि उक्त काममा लापरबाही भएको अनुमान लगाउन थालिएको छ ।

तर, राष्ट्रिय गौरवको आयोजना लुम्बिनीमा यति लापरबाही ढंगले काम हुँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकिरहेको बताइन थालिएको छ । अहिले सो ट्यांकी निर्माणको प्राविधिक काम भने कन्स्ट्रक्सनका तर्फबाट सदस्य–सचिव तामाङलाई उपाध्यक्ष बनाउन दौडधुप गरिरहेका तिनै विष्टले हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्