भूकम्प र नाकाबन्दीका बाबजुद लक्ष्यभन्दा छ अर्ब बढी राजश्व उठाउन सरकार सफल


२ साउन । भूकम्प त कसैले चाहेर पनि रोक्न सक्ने कुरा भएन । तर, भारतले नाकाबन्दी नलगाइदिएको भए गत आर्थिक वर्षमा मुलुकले आर्थिक रुपमा ठूलै उपलब्धि हासिल गर्ने रहेछ भन्ने तथ्यांकबाट देखिएको छ । गत आर्थिक वर्षको अन्तिम दिन अर्थ मन्त्रालयले सार्वजनिक विवरण अनुसार, ती समस्याका बाबजुद सरकारले लक्ष्यभन्दा छ अर्ब बढी रकम उठाएको छ । गत आर्थिक वर्षमा ४ खर्ब ८१ अर्ब राजस्व सङ्कलन भएको छ । त्यसमध्ये कर र राजस्व गरी ४ खर्ब २२ अर्ब रकम उठेको छ भने गैरकरतर्फ ५८ अर्बभन्दा बढी राजस्व उठेको छ ।

संविधान भएप्छि आर्थिक समृद्धि हासिल हुने आशा गरिएकोमा भारतले पाँच महिनासम्म नाकाबन्दी लगाउँदा अयातमुखी अर्थतन्त्र भएको मुलुकमा आर्थिक क्रियाकलाप नै ठप्प भएका थिए । ग्यास, तेल जस्ता अत्यावश्यकीय वस्तुको आयात समेत बन्द हुँदा अर्थतन्त्र स्वतः संकुचनमा परेको थियो । तर, अर्थमन्त्री विष्णप्रसाद पौडेलको नेतृत्वमा अर्थ मन्त्रालयले आश्चर्यजनक उपलब्धि हासिल गरेको विज्ञहरुले टिप्पणी गरेका छन् ।

सरकारले गत आर्थिक वर्षका लागि ४ खर्ब ७५ अर्ब एक करोड २१ लाख राजस्वको लक्ष्य राखेको थियो । गत पुसमा अर्थमन्त्री पौडेलले कर तथा राजस्व उठाउने वैकल्पिक विशेष कार्ययोजना बनाएर काम सुरु गरेको थियो । सरकार स्वयम्ले पनि उक्त राजश्व उठ्नेमा आशंका गरेको थियो । जेठ १५ गते प्रस्तुत गरिएको बजेटमा ९६ दशमलव ८ प्रतिशत राजश्व उठ्ने संशोधित लक्ष्य अघि सारेको थियो ।

अर्थमन्त्रालयका राजश्व व्यवस्थापन महाशाखा प्रमुख लक्ष्मण अर्यालका अनुसार, बक्यौता असुली, कर तथा राजस्व छली नियन्त्रण, राजस्वको दायरामा विस्तार, प्रशासन सुधार एवम् भन्सार बिन्दुमा गरिएको कडाइका कारण लक्ष्यअनुसार नै राजस्व सङ्कलन भएको हो ।  यस वर्ष सरकारले ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख राजस्वबाट उठाउने लक्ष्य निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्