भेरी–बबई आयोजनाको काम धमाधम


२१ असार । टनेल बोरिङ मेसिनबाट सुरुङ निर्माण गर्ने नेपालकै पहिलो र परीक्षणयोग्य भेरी–बबई बहुउद्देश्यीय आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । तोकिएको समयमै आयोजनाको काम सक्न सुरुङ निर्माण अघिको कामले तीव्रता पाएको हो ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजनामा सुरुङ निर्माण स्थलसम्म सडक पु¥याउने र क्याम्प निर्माणको काम सकिएको छ भने पहिरो रोक्न साइलेन, सेग्मेन्ट प्रोडक्सन प्लान्ट, टीबीएम प्लेट फर्म निमार्ण गर्ने काम भइरहेको छ । ठेकेदार कम्पनीले गर्ने पूरक भौगर्भिक परीक्षण, आयोजनाको निर्माणस्थलमा पर्ने रूख हटाउने काम पनि यसअघि नै सकिएको छ । निर्माण जिम्मा पाएको कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) ले पहिलो चरणका सबै कामहरु लगभग सम्पन्न हुन लागेको बताएको छ ।

आयोजनाको भेरी र बबई नदीको बीचमा पर्ने चुरे पर्वतमा सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरिँदै छ । निर्माण कम्पनीले भेरीको पानी बबईमा ल्याउन चार वर्षमा १२ किलोमिटर सुरुङ निर्माण सक्ने लक्ष्य लिएको छ । यसअघि मजदुरहरुको सहायताले हात्तीखालमा दुई सय मिटर सुरुङ खनेर बेस तयार पारिने आयोजनाका सिनियर डिभिजन इन्जिनियर मीनराज ढकालले जानकारी दिए । काम सुरु भएको छोटो समयमै अपेक्षाभन्दा तीब्र गतिमा काम भइरहेको ढकालले बताए ।

आयोजनामा पहिलो चरणमा सुरुङ खन्ने, दोस्रो चरणमा ४८ मेगावाट बिजुली निकाली राष्ट्रिय प्रसारण–लाइनमा जोड्ने र भेरी नदीको पानी बर्दियाको बबई नदीमा खसाली सिँचाइ र जलविद्युत उत्पादन गर्ने उद्देश्य लिइएको छ । सिँचाइ विभाग र चाइना ओभरसिजबीच परियोजना निर्माणका लागि २०७१ माघ १६ गते ठेक्का सम्झौता भएको थियो । साढे १६ अर्ब लगानी लाग्ने उक्त बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न भएपछि प्रतिबर्ष झन्डै ४ अर्ब आम्दानी हुने बताइएको छ ।

मुलुकको आर्थिक समृद्धिसँग जोडिएको भेरी–बबई आयोजनाको काम तीन चरणमा निर्माण सम्पन्न गरिँदै छ । आयोजनामा पहिलो चरणमा सुरुङ खन्ने, दोस्रो चरणमा ४८ मेगावाट बिजुली निकाली राष्ट्रिय प्रसारण–लाइनमा जोड्ने र भेरी नदीको पानी बर्दियाको बबई नदीमा खसाली सिँचाइ र जलविद्युत उत्पादन गर्ने उद्देश्य लिइएको छ । सिँचाइ विभाग र चाइना ओभरसिजबीच परियोजना निर्माणका लागि २०७१ माघ १६ गते ठेक्का सम्झौता भएको थियो । साढे १६ अर्ब लगानी लाग्ने उक्त बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न भएपछि प्रतिबर्ष झन्डै ४ अर्ब आम्दानी हुने बताइएको छ ।

सुरुङ निर्माणको काम सकिनुभन्दा पहिले नै बाँकी कामको ठेक्का गरिने सिनियर डिभिजन इन्जिनियर ढकालले बताए । उनका अनुसार, सुरुङ निर्माणको काम सकिने बेलासम्म ड्याम र विद्युतगृह पनि तयार भइसक्ने छ । आयोजनाको काम सम्झौता भएको मितिले ५८ महिना अर्थात् ४ बर्ष १० महिनामा सम्पन्न गरिसक्नुपर्नेछ । आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

सम्झौता अवधिअघि नै सम्पन्न गर्ने गरी कम्पनीले तीव्र गतिमा काम गरिरहेको आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले बताए । उनका अनुसार, भेरी–बबई आयोजना सफल भएमा देशभर रहेका यस्ता सम्भावित आयोजना निर्माणका लागि बाटो खुल्नेछ । सुरुङ निर्माणका लागि करिब साढे १० अर्ब रुपैयाँमा ठेक्का भएको र ड्याम तथा विद्युतगृह निर्माण गर्न थप १२ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

आयोजना स्थल नजिकै निर्माण सामाग्रीको गुणस्तर नाप्न ल्याब टेस्ट गृह राखिएको छ, जसले आयोजनामा प्रयोग हुने गिटी, बालुवा, सिमेन्ट, छडलगायतका निर्माण सामग्रीको गुणस्तर जाँच गरेपछि मात्रै प्रयोग गरिन्छ । आयोजनामा हाल २६ चिनियाँ र २ सय ६० नेपाली कामदारले काम गरिरहेका छन् ।

आयोजनाले सामाजिक विकासका क्षेत्रमा पनि काम सुरु गरेको छ । आयोजना प्रभावित सुर्खेतका रामघाट, छिन्चु, मेहलकुना, मैनतडा, दहचौर, गुमी र लेखफर्सा तथा बर्दियाको वेलवा गाविसमा आयोजनाले सामाजिक विकासका काम पनि सुरु गरेको हो । बर्दिया राष्ट्रिय निकुञ्जभित्र र हर्रेमा गरी एक–एक वटा चेक पोस्ट र एक–एक वटा घर निर्माण गरेको छ । त्यस्तै, आयोजना स्थल नजिकैका चारवटा गाउँमा विद्युतीकरणको काम पनि सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाबाट प्रभावित साविकका ८ गाविस (हाल भेरीगंगा नगरपालिका) मा सिँचाइ तथा अन्य सामाजिक विकासका काम भइरहेको जनाइएको छ ।

तस्वीर: भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको सुरुङ प्रवेशद्धार निमार्ण गरिँदै/ ईश्वरराज अधिकारी ।

प्रतिक्रिया दिनुहोस्