भोजपुरका आगलागी पीडितलाई सामूहिक बसोबासको व्यवस्था


६ मंसिर । भोजपुर बजारमा भएको भीषण आगलागीका पीडितहरुलाई सामूहिक बसोबासको व्यवस्था गर्नेे निर्णय भएकोे छ । जिल्ला दैवी प्रकोप उद्धार समिति, भोजपुरको सोमबार बिहान बसेको आपतकालीन बैठकले प्रारम्भिक राहतअन्तर्गत प्रतिघर तत्काल १३ हजार दिने र सामूहिक बसोबासकोे लागि जस्तापाता हालेर घरको व्यवस्था गर्नेे निर्णय गरेको छ ।

बैठकमा जोखिममा रहेका संरचनालाई तत्काल व्यवस्थापन, सञ्चार सम्पर्क स्थापनाको पहल र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य सङ्घलगायतले आर्थिक सहयोग सङ्कलन जुटाउने निर्णयसमेत गरेको छ । भोजपुर सदरमुकामको भोटेपसलमा आइतबार भीषण आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् भने पाँच घरमा आंशिक क्षति पुगेकोे छ ।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब तीन घन्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणका लागि नगरपालिकाको वारुणयन्त्र र स्काभेटरको समेत प्रयोग गरिएको थियो ।

साँघुरो सडक र बाक्लो घर भएका कारण आगो बेलैमा नियन्त्रणमा ल्याउन नसकेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक राधाप्रसाद पराजुलीले बताए । आगलागीबाट रु तीन करोडको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण अझै आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्